
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत आफ्नो दल सबैभन्दा ठूलो बन्ने प्रबल सम्भावना रहेको बताएका छन् ।
आइतबार (माघ ११) सिंहदरबारमा नेकपा राष्ट्रियसभा संसदीय दलको बैठकमा उनले जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उमेदवार छनोट गरिएको उल्लेख गरे । सोही कारण नेकपाका उमेदवारले निर्वाचनमा नतिजा निकाल्ने उनले विश्वास व्यक्त गरे ।
२० दल समेटेर एउटै पार्टी बनाइएको र सबै पक्षलाई समेट्ने गरी उमेदवार चयन गरिएको उनले बताए ।
‘जेनजी’ आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अरू पुराना दलको तुलनामा सकारात्मक बनेको उनले जिकिर गरे । जेनजीले पनि तीन प्रमुख दलमध्ये नेकपा र यसको नेतृत्व फरक रहेको महसुस गरेको उनको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा देखिएको उत्साह विस्तारै ती पार्टीका उमेदवारका गतिविधिका कारण कमजोर हुँदै गएको उनले टिप्पणी गरे ।
उनले गोरखामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उमेदवारी फिर्ता लिएपछि नेकपाका उमेदवार लेखनाथ न्यौपानेको जित करिब निश्चितजस्तै भएको बताए । डा. भट्टराई र नेकपाबीचको सम्बन्ध पनि क्रमशः सुधार हुँदै जाने उनले विश्वास व्यक्त गरे ।
पार्टीले दिएका उमेदवारविरुद्ध देखिएका अधिकांश असन्तुष्टि छलफलबाट समाधान गरिएको उनले बताए । विवाद नमिलेका एक–दुई ठाउँमा अनुशासनको कारबाहीमार्फत क्रमशः समाधान हुँदै गएको उनले सुनाए ।



