रात पाथिभरा च्यानल ,रात छिप्पिँदै थियो । बस्ती पनि सुनसान बन्यो । धनुषा, बिषरभोराकी १४ वर्षीया किशोरी सुतेको घरको ढोका लगातार ढकढक्याइयो । बुवा–आमा घरमा नरहेकाले ती किशोरीले ढोका खोल्न मन गरिनन् । तर, ढोका थपथप्याउने क्रम नरोकिएपछि उनी बाहिरिन् । त्यही उनका लागि अभिशाप बन्यो ।
‘परिचित’ दुई युवामध्ये एकले किशोरीलाई नियन्त्रणमा लिन खोजे । उनी फुत्केर भागिन् । बस्तीका सबै घरको ढोका ढक्ढक्याउँदै उनी गुहार मागिन् । तर, उनको चित्कार सुनिदिने कोही भएनन् । दुर्भाग्य, उनीलाई दुबै केटाले नियन्त्रणमा लिए । र, अलि परको खेतमा लगेर बलात्कार गरे । गाउँमै आपराधिक छवि बनाएका ती दुबै केटाको भयले समाज नै त्यो घृषित क्रुरताको साक्षी मात्रै बने, रोक्न र प्रतिकार गर्न हिम्मत जुटाएनन् ।
चैत १४ गते राति धनुषाको सहिद नगरपालिका–८ को बिषरभोरामा किशोरीको सामूहिक बलात्कार गर्ने २५ वर्षका मनोज यादव र २४ वर्षीय दिपेश बिराजी घटनापछि समाजले नै चासो नदेखाउँदा फरार भए । बलात्कारका आरोपी मनोज यसअघि सशस्त्र समूहमा हुँदा आतंक फैलाएका र अर्का आरोपी दिपेश वडा सदस्य राकेश बिराजीको भाइ भएकाले ती किशोरी गाउँभर दौडिएर गुहार माग्दा पनि समाजले ‘चाल’ नपाएको जस्तो ढोंग गरिरहे । ‘चिच्याहट नसुनेझैं गर्दा म लुटिँदै गएँ, छिमेकीहरू मेरो चित्कार सुनिबसे,’ बलात्कृत किशोरीले भनिन्, ‘गुहार माग्दा पनि मौन बसेका गाउँलेले मेरो अस्मिता लुट्नेलाई जोगाउन भने मिलापत्रका लागि दबाब दिन मुखचाहिँ खोले ।’
बलात्कृत किशोरीका अनुसार दुबै युवाले उनलाई नियन्त्रणमा लिन खोजेपछि उनी फुत्किएर भागिन् । जोगिनका लागि दौडिँदै उनले धेरै घरमा गुहार मागिन् । तर, ती किशोरीलाई कसैले संरक्षण दिएनन् । समाज नै मुकदर्शक बनेपछि दुबै केटाको मनोबल बढ्यो । किशोरीलाई काबुमा लिए । मुख थुनेर खेतमा लगेर बलात्कार गरे । ‘बलात्कारको भिडियो पनि बनाए । र, भने कहींकतै भन्यौ भने भिडियो फेसबुकमा हाल्दिन्छु,’ किशोरीले भनिन्, ‘पख न कहाँ छोड्छु भनेपछि गम्छाले घाँटी बाँधेर ज्यान लिने प्रयास गरे । म जसोतसो उम्किएर भागें ।’ बलात्कारपछि गहुँ खेतमा लुकेर ज्यान जोगाएकी किशोरीले मामाघर सिरहामा रहेका आमा–बुवालाई घटनाबारे सुनाइन् । आमा–बुवाकै सल्लाहअनुसार उनले बलात्कारपछि हत्या गर्न खोजेको घटना छिमेकीलाई राति नै सुनाइन् । उनको पीडा सुन्ने कुनै छिमेकीले पनि प्रहरीलाई खबर गर्न मानेनन् । यतिसम्म कि बलात्कृत किशोरीलाई रातिसँगै राख्न पनि तयार भएनन् । ‘छोरी आफ्नै घरमा फर्केर रात बिताइन्,’ किशोरीकी आमाले भनिन्, ‘घरमा कोही नभएकाले छिमेकीमै बस्न पठाए तर कसैले पनि आफ्नो घरमा राख्न तयार भएनन् ।’
विपन्न परिवारमा हुर्केकी बलात्कृत किशोरीका बुवा बैदेशिक रोजगारमा यसै साता कतार हिँडेका छन् । त्यो परिवारको सम्पत्ति भनेकै ७ धुर घडेरीमा बनेको कच्ची घर नै हो । समाज कतिसम्म मुकदर्शन बन्यो कि किशोरी बलात्कृत गरेपछि दिनभर आरोपी गाउँमै बसिरहे । प्रहरीलाई घटना लुकाउँदै समाज नै बलात्कारमा मिलापत्र गराउन अग्रसर भए । किशोरीकै अड्डीले मिलापत्र हुन नसकेपछि दुबै आरोपीलाई फरार गराइयो । किशोरी बलात्कृत भएको अर्को दिन मात्रै घटना प्रहरीसम्म पुग्यो ।
इलाका प्रहरी कार्यालय, यदुकोहाका प्रमुख इन्सपेक्टर पवन झाले बलात्कारको घटना समाजमै मिलाउन खोज्दा प्रहरीले ढिलो मात्रै जानकारी पाएको बताए । धनुषा प्रहरीले दुबै आरोपीलाई पक्राउ गर्न टिम नै खटाएको छ ।
‘आरोपीको खोजी हामी युद्धस्तरमा गरिरहेका छौं,’ इन्सपेक्टर झाले कान्तिपुरसँग भने, ‘भारततिर लुकेर बसेको खबर आएको छ, त्यहाँको प्रहरीसँग सहकार्य भइरहेको छ ।’ किशोरी बलात्कारको घटनामा समाज नै मुकदर्शक बनेपछि प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले धनुषाको बिषरभोरामै पुगेर बलात्कारको घटना समाजमै लुकाउने र आरोपीलाई राजनीति संरक्षण दिएको आरोप लगाए । अपराध रोक्न र सुशासन कायम गर्न मन्त्री यादवले ‘जनताको कचहरी’ कार्यक्रम बिषरभोराबाटै थाले । ‘किशोरी बलात्कारको घटना समाजमै मिलाउन खोजियो । बलात्कारपछि किशोरीको उपचार पनि गाउँकै स्वास्थ्य चौकीमा गर्ने अडान लियो,’ आन्तरिक मामिलामन्त्री यादवले कान्तिपुरसँग भने, ‘बलात्कारको घटनामा जतिसुकै शक्ति केन्द्रको संरक्षण रहे पनि आरोपी उम्किन पाउँदैन ।’ प्रदेश २ मा सरकार बनेपछिको अवधिमा मात्रै ८ जिल्लामा ३७ वटा बलात्कारका घटना भएको छ ।
प्रदेशसभाको बैठकमा सत्तापक्ष र विपक्षीका सांसदले प्रदेशमा बलात्कार र अन्य आपराधिक वारदाता बढेको भन्दै सरकारको आलोचना गरेपछि आन्तरिक मामिलामन्त्री यादवले अपराधको तथ्यांक सार्वजनिक गरेका हुन् । प्रदेश २ का ८ जिल्लामा ३७ बलात्कार, घरेलु हिंसाका ७६ र महिलाहिंसाका ६५ घटना भएको छ । गोली हानेर दुइटा हत्या प्रयास र ४ वटा बम विष्फोटका घटना भए ।
सप्तरीमा १०, पर्सामा ६, सिरहामा ५, महोतरी र सर्लाहीमा ४/४, धनुषा र बारामा ३/३ र रौतहटमा २ जना बलात्कृत भएकी छन् ।