
काठमाडौं । याक्थुङ् (लिम्बु) कलाकारद्धय देवेन्द्र तुम्रोक र ईन्दीरा योङ्हाङको दुर्घटनामा परी मृत्यु भएको छ । बुधबार काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा परेर तुम्रोक र योङ्हाङसहित पाँच जनाको मृत्यु भएको हो ।
नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्किने क्रममा उनीहरू सवार बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
ताप्लेजुङको पाथीभरा–५ घर भई हाल बूढानीलकण्ठ नगरपालिका ७ मा बस्दै आएकी ५१ वर्षीया इन्दिरा योङ्हाङ किरात याक्थुङ चुम्लुङ लिम्बू सांस्कृतिक परिषद् काठमाडौंको अध्यक्ष हुन् । याक्थुङ मुन्चइत चोक सयङ नेवाः ताम्सालिङ प्रदेश समिति सदस्यसमेत रहेकी उनले थुप्रै याक्थुङ् पाःलामका भिडियोहरूमा अभिनय गरेकी छिन् ।
यस्तै पाँचथर घर भई हाल गोठाटार बस्दै आएका ६५ वर्षीय देवेन्द्र तुम्रोक लिम्बु पनि किरात याक्थुङ चुम्लुङ लिम्बू सांस्कृतिक परिषद काठमाडौंको जिल्ला सचिव तथा याक्थुङ मुन्चइत चोक सयङ नेवाः ताम्सालिङ प्रदेश समिति सदस्य हुन् । याक्थुङ् पाःलाम तथा चलचित्रहरूमा अभिनय गरेका तुम्रोक र योङ्हाङ दुवैजना तान्छोपा पत्रिकाको काठमाडौं व्यवस्थापक पनि थिए ।
एकैसमयमा दुई सदस्य गुमाउनुपर्दा सङ्गठनलाई ठूलो क्षति पुगेको याक्थुङ मुन्चइत चोक सयङका केन्द्रीय अध्यक्ष सागर केरुङले बताउँछन् । “याक्थुङ् कल्चरका लागि वहाँहरू दुवैजना मल्टिप्याकेज हुनुहुन्थ्यो,” अध्यक्ष केरुङले भने,“धारावाहिक पाःलाम र हाक्पारे गाउन सक्ने वहाँहरू मात्रै हुनुहुन्थ्यो । वहाँहरू केलाङ नाच्नुहुन्थ्यो, केसाम गाउनुहुन्थ्यो । संस्थाको व्यवस्थापकीय पक्ष पनि वहाँहरुले नै धान्नुभएको थियो । यसरी एकैपटक दुवैलाई गुमाउनुपर्दा हामीलाई ठुलो क्षती भएको छ ।”
अध्यक्ष केरुङकाअनुसार मृतकहरुको शव अहिले टिचिङमा राखिएको छ । प्रक्रिया पुरा भइरहेको र परिवारका सदस्यहरू गाउँबाट आउदै गरेको पनि उनले जानकारी दिए । सम्भवतः आजै नत्र भोली दुवैजनाको अन्यष्टि कार्य हुन सक्ने उनले बताए ।
उक्त र्दुटघनामा परी अन्य मृत्यु हुनेहरूमा बाँकेको कोहलपुर नगरपालिका ५ घई भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, सिरहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५ वर्षीय अर्जुन लामिछाने रहेका छन् । लामिछानेको उपचारको क्रममा गएराति साढे १२ मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ३३ जना घाइते भएका छन् । घाइते भएकाहरूको अस्पतालमा उपचार जारी छ । नेपाल मामिला बाट



