
काठमाडौं, २५ पुस । हामी नेपालका संस्थापक एवं जेन–जी अगुवा सुदन गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । आज (शुक्रबार) उनले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट प्रतिस्पर्धा गर्ने बताएका हुन् ।
‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
उनले आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात गर्ने पनि उल्लेख गरेका छन् । नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल बनाउने उनको घोषणा रहेको छ ।
सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस भएको छ । गत २०७९ को निर्वाचनमा गोरखा २ बाट निर्वाचित प्रचण्ड आसन्न निर्वाचनका लागि भने गोरखा १ बाट उनको नाम सिफारिस भएको हो ।
यद्यपि प्रचण्ड कहाँबाट चुनाव लड्छन् भन्ने टुङ्गो लाग्न भने बाँकी छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डको नाम सिफारिस भएपछि गोरखा २ लाई पनि विशेष चासोका साथ हेरिएको छ ।



