वीरगन्जमा नेपाल प्रवेशद्वारको पूर्वदक्षिण कुनामा एउटा राम (चमार) बस्ती छ । सदरमुकाममै भए पनि झट्ट हेर्दा दूरदराजको पिछडिएको गाउँझैं लाग्छ, अहिलेसम्म बिजुली बत्ती पुगेको छैन । चुनाव जितेर गएपछि आफ्ना नेताको मुखसम्म देख्न पाएनन् स्थानीयले । तर, स्थानीय चुनाव लागेसँगै नेताहरू फेरि उनीहरूलाई भोटका लागि फकाउँदै छन् । नमस्कार फर्काउनै भ्याइनभ्याई छ स्थानीयलाई । चिल्ला गाडी चढेर आउने नेता र कार्यकर्ताहरूको आवागमन बाक्लो छ ।
ऐलानी जग्गामा बसेको २५ घरधुरीको यो बस्ती वीरगन्ज महानगरको वडा नम्बर १६ मा पर्छ । चमार बस्तीको नामले चिनिँदै आएकोमा केही वर्षयता पशुपतिनगर भन्न थालिएको छ ।
देशकै प्रमुख व्यापारिक नाकाबाट प्रवेश गर्ने मालबाहक सवारीले राज्यलाई कर तिर्दा वीरगन्ज भन्सारले वार्षिक १ खर्ब रुपैयाँभन्दा बढी राजस्व उठाउँछ । दक्षिणतर्फ सीमावर्ती भारतीय बजार रक्सौलको चमकधमक छ । रात परेपछि बस्तीको दक्षिणमा रक्सौल र उत्तरमा वीरगन्ज महानगरको सडक बत्ती र १ वर्षयता सोलार बत्तीले सीमा नाका उज्यालिन्छ । तर, पशुपतिनगरवासीको घरमा अझै दियो बल्छ । ४ वर्षअघि गाडिएको पोल र तारमा अझै करेन्ट प्रवाह भएको छैन ।
यस वर्ष सिर्सियाखोलाको बाढी बस्तीमा पसेर उठीबास भएको पीडा आलै छ । अधिकांश घर टेकोमा अड्याइएका छन् । अशिक्षा, गरिबि, अभाव, बेरोजगारीको ज्वलन्त उदाहरण हो यो बस्ती । सामान्य पानी पर्दा राजमार्गबाट बस्ती पुग्ने बाटो हिलाम्मे हुन्छ । २५ मध्ये ७ घरधुरीमा मात्रै चापाकल छ । सार्वजनिक चापाकल पनि सिंगो बस्तीमा एउटै मात्र छ । बस्तीका युवा मजदुरी र टाँगा चलाउने पेसामा छन् । मजदुरी पनि सधैं गर्न नपाइने हुँदा धेरै युवा बेरोजगार भएर बसेका छन् । करिब २ सय २५ जनसंख्या रहेको बस्तीमा १ सय २५ जनाभन्दा बढी मतदाता छन् ।
बस्तीमा ठाउँ–ठाउँमा महानगरका मेयर, उपमेयर, वडाध्यक्ष आदि पदमा लडेका दलका तथा स्वतन्त्र उम्मेदवारले प्रचार–प्रसारका लागि फ्लेक्स र झन्डा झुन्ड्याएर गएका छन् । अधिकांश बस्तीवासीको एउटै माग छ, बत्ती ।
७४ वर्षीया पानादेवी भन्छिन्, ‘मैले त भोट माग्न आउनेजति सबै नेतासँग मेरो बस्तीमा बत्ती बालिदिनुपर्यो भनेकी छु, कुनै नेताले त्यसो गर्न सक्छजस्तो लाग्छ, मेरो भोट उसैलाई जान्छ ।’