कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सुन तस्करीले गर्दा हुन्डी फस्टायो

काठमाडौँ — २०७३ पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर साढे ३३ केजी सुनसहित गोपालबहादुर शाही पक्राउ परे । उनी बारम्बार सुन लिनकै लागि साउदी अरब जाने र आउने गरेको उनको पासपोर्टको यात्रा विवरणबाट देखिएको थियो ।

 

शाहीले यस्तो यात्राका क्रममा पासपोर्ट र हवाई टिकट पेस गरेर एक पटक बैंकबाट ९ हजार साउदी रियाल निकालेको देखिन्छ । उनले साउदी अरब जाँदा पनि दुबईको रकम दिराम बोकेर गएको पनि देखिन्छ । प्रहरीले सुन तस्करमा संलग्न केही व्यक्तिको काठमाडौंमा मनी ट्रान्सफर कम्पनी रहेकोसमेत पत्तो पाएको थियो । आवरणमा मनी ट्रान्सफर भनिए पनि हुन्डीको कारोबारका निम्ति त्यस्ता ट्रान्सफर कम्पनी उपयोग हुने गरेको देखिन्छ ।

साढे ३३ किलो तस्करीको सुन बरामदपछि प्रहरीले तयार पारेको प्रतिवेदनमा अवैध सुन कारोबारको असर विदेशी विनिमय र विप्रेषणमा पर्न गई रेमिटयान्समा गिरावट हुने तथ्य उल्लेख छ । त्यस्तै अवैध सुनका कारोबारीबाट सरकारी ढुकुटीमा विप्रेषणको कमी आउने, नगद डलरको अभाव हुने, अर्थतन्त्र असन्तुलित हुने तथ्य पनि समेटिएको छ । सुन तस्करहरूले हुन्डी कारोबार गर्ने हुनाले बजारमा भएको नगद विदेशी मुद्रा जम्मा पारेर सुन आयातका लागि अनौपचारिक प्रणाली मार्फत विदेश पुर्‍याउनाले देशमा विदेशी मुद्राको अभाव हुने पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा रेमिटयान्सको ४० प्रतिशत हिस्सा हुन्डीबाट आउने र त्यो रकम सुन खरिदमा प्रयोग भएको बताइएको छ ।

एक किलो सुनको भन्सार शुल्क ४ लाख २० हजार रुपैयाँ पर्ने र अवैध सुनको कारोबारीले भन्सार छल्ने हुँदा सरकारलाई राजस्व नोक्सान हुने तथ्य पनि प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदनमा लगातार अवैध सुन बरामदका घटना बढ्दै जाँदा फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई कालोसूचीमा राख्ने खतरा बढेको औंल्याइएको छ । देश कालोसूचीमा परेमा नेपाली वाणिज्य बैंकहरूले एलसी खोल्न र अन्तर्राष्ट्रिय कारोबारसमेत गर्न नपाउने उल्लेख छ ।

अवैध सुनको कारोबारमा प्रतिवादी बनेका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङले बयानका क्रममा सुन किन्ने पैसा दुबईमा कसरी जम्मा गरिन्थ्यो भन्ने उल्लेख गरेका छन् । उनले २०४० सालतिरबाटै सुन तस्करीमा लागेको र त्यतिबेलै हङकङमा रहेका नेपालीका नेपालमा रहेका आफन्तलाई रकम दिने र त्यसको शोधभर्ना हङकङमा बस्ने नेपालीबाट हङकङ डलरका रूपमा लिने गरेको बताएका छन् । भुजुङले पछिल्ला वर्षमा दुबईबाट सुन ल्याउने क्रममा पनि पुरानै हुन्डीको तरिका अपनाएको बताएका छन् । उनको बयानबाट अवैध सुन तस्करीका निम्ति हुन्डीबाट रकमको जोहो हुने गरेको देखिन्छ । यसले एकातिर विदेशको कमाइ राष्ट्रिय ढुकुटीमा दाखिला हुँदैन भने अर्कोतिर अवैध कारोबारीलाई सहयोग पुर्‍याउँछ ।

दुबईबाट काठमाडौं आएको ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेकै दिन भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई लैजान लागिएको एक करोड भारतीय रुपैयाँ बराबरको साउदी मुद्रा रियाल र यूएई मुद्रा दिराम पनि बरामद भएको थियो । अनुसन्धान अधिकारीहरूले दिल्ली र काठमाडौंमा एकै दिन भएका दुई फरक घटनाको तार जोडेर हेरेनन् । तर, भारतीय सञ्चार माध्यमले भने दुबईबाट काठमाडौंमा सुन आएको र भारतबाट दुबईको मुद्रा दिराम अवैध तरिकाले लैजान खोजिएको घटनाको कनेक्सन खोज्ने प्रयास गरेका थिए ।

सुन तस्करीमाथि अनुसन्धान गर्न बनेको विशेष समितिले पछिल्ला ५ वर्षमा गोरे भनिने चूडामणि उप्रेतीको समूहले मात्रै ३ हजार ७ सय ९९ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । प्रहरीले तस्करको यो समूहमाथि १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ बिगो मागदाबी कायम गर्दै मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । जसको अर्थ हुन्छ— तस्कर समूहले यति रकम बराबरको सुन अवैध बाटोबाट नेपाल भित्र्याएका थिए । यतिका धेरै परिमाणमा नेपाल भित्रिने सुन तस्कर समूहले कसरी किनेर ल्याउँछ ? सुनको रकम कसरी नेपाल हुँदै दुबईलगायत देशमा पुग्छ ? यही प्रश्नको उत्तरमा लुकेको छ, अवैध हुन्डीको साम्राज्य, विदेशी मुद्राको तस्करी र त्यसैको आडमा हुने सुन तस्करी ।

सुन तस्करीको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको अनुभवमा अवैध मार्गबाट नेपाल भित्रिने सुनको ठूलो हिस्सा तस्करीको बाटो हुँदै भारतीय बजारसम्म पुग्छ । अन्तरदेशीय अवैध सुनका कारोबारीको संलग्नतामा हुने यस्तो कारोबारमा हुन्डी व्यवसायी, अवैध मुद्रा तस्करीदेखि न्यून बीजकीकरणमा सामान भित्र्याउनेसम्म जोडिएका देखिन्छन् । जस्तो कि काठमाडौंमा सुन भित्रिएकै दिन दिल्लीबाट अवैध रूपमा दुबई पठाउन आँटिएको विदेशी मुद्राको कनेक्सन यही मेसोमा जोड्ने प्रयत्न गरिएको थियो । तर, त्यस्तो कनेक्सन न दिल्ली प्रहरीले स्थापित गर्न सक्यो न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नै त्यसलाई जोडेर हेर्न सक्यो ।

टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा डाइरेक्टर अफ रेभिन्यु इन्टेलिजेन्सका अतिरिक्त कार्यकारी निर्देशक एमके सिंहले दुबईबाट सुन किन्नकै लागि कुनै व्यापारीले त्यतिका रकम अवैध रूपमा पठाउन आँटेको बताउँदै भनेका थिए, ‘सुन तस्करीको र्‍याकेट नै सक्रिय छ । अवैध विदेशी मुद्रा विदेश पठाउनुको अर्थ सुन तस्करी नै हो ।’ तस्करीको पछिल्लो शृंखलालाई भारतमा गरिएको नोटबन्दीको प्रभावका रूपमा पनि बुझ्नुपर्ने अनुसन्धान अधिकारीहरूको भनाइ छ । अवैध धन रोक्न भारतमा एक हजार र ५ सय भारु नोटमा प्रतिबन्ध लगाएपछि माफियाहरूले सुनमा लगानी बढाएको देखिन्छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार