कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक

काठमाडौं, असार ११ – वरिष्ठ मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बूद्वारा लिखित ‘मुटु र रक्तनली रोगः जानकारी र रोकथाम’ पुस्तक सार्वजनिक गरिएको छ।

काठमाडौंको बौद्ध–चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पताल परिसरमा आयोजित कार्यक्रममा ९४ वर्षीया ज्येष्ठ नागरिक आङडोली शेर्पा तथा लेखक डा. लिम्बूलगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयो। यसअघि डा. लिम्बूको ‘अस्तित्व, पहिचान सन्दर्भमा’ कृति प्रकाशित भइसकेको छ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटु तथा रक्तनली रोग विशेषज्ञका रूपमा करिब २५ वर्ष सेवा गरिसक्नुभएका डा. लिम्बूले पुस्तकमा मुटु तथा रक्तनली रोगसम्बन्धी विषयलाई सर्वसाधारणले सहज रूपमा बुझ्न सक्ने भाषामा प्रस्तुत गर्नुभएको छ।

पुस्तक लेखनको प्रेरणाबारे लेखक डा. लिम्बूले विभिन्न स्थानमा सेवा गर्ने क्रममा भेटिएका बिरामी तथा तिनका आफन्तसँग भएका संवाद, जिज्ञासा र अनुभवहरू नै मुख्य आधार बनेको बताउनुभयो।

पुस्तकमा मुटु तथा रक्तनली रोगको इतिहासदेखि वर्तमान अवस्थासम्मको चर्चा गरिएको छ। विश्वभर प्रत्येक वर्ष करिब एक करोड ९० लाख मानिसको मृत्यु मुटु तथा रक्तनली रोगका कारण हुने गरेको उल्लेख गर्दै लेखकले यो संख्या विश्वका कुल मृत्युमध्ये झन्डै एक तिहाइ रहेको जनाउनुभएको छ।

डा. लिम्बूका अनुसार नेपालजस्ता विकासोन्मुख मुलुकमा उच्च रक्तचाप, मधुमेहलगायतका जोखिम कारकतत्त्व बढ्दै जाँदा कोरोनरी मुटुरोग र त्यसबाट हुने मृत्युदर पनि वृद्धि भइरहेको छ। अर्कोतर्फ विकसित मुलुकमा धेरै हदसम्म नियन्त्रणमा आइसकेका बाथ ज्वरो र बाथ मुटुरोगको रोकथाम तथा उपचारमा नेपालले अझै अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन।

१५ वटा लेख समेटिएको पुस्तकमा मुटुरोगबाट बच्ने उपाय, जोखिम कारकतत्त्वको पहिचान तथा रोकथामका विषयहरू सरल भाषामा प्रस्तुत गरिएको छ। दैनिक कति पाइला हिँड्ने, कुन उमेरदेखि उच्च रक्तचाप र कोलेस्टेरोलप्रति सचेत हुने, घरमै रक्तचापको निगरानी कसरी गर्ने लगायतका उपयोगी जानकारी पुस्तकमा समावेश छन्।

यसका साथै मुटु तथा रक्तसञ्चार प्रणालीसम्बन्धी रोगको जोखिम मूल्याङ्कन, छाती नदुखे पनि हार्ट अट्याक हुन सक्ने अवस्था, कोरोनरी मुटुरोग, उच्च रक्तचाप, बाथ ज्वरो, हार्ट फेलियर, मुटुको चालमा हुने समस्या तथा हार्ट ब्लकबारे विस्तृत जानकारी दिइएको छ।

पुस्तकमा जन्मजात मुटुरोग, मुटु तथा रक्तनली रोगको रोकथाम, वायु प्रदूषण र मुटुरोगबीचको सम्बन्ध, रक्तनलीसम्बन्धी रोग, नियमित व्यायामको महत्व, स्वस्थ आहार तथा मुटु रोग उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे पनि चर्चा गरिएको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |