कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा, यस्ता छन् अन्य कार्यक्रम

नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्व मनाउन आइतबार मधेस प्रदेश पुगेका छन्।

काठमाडौँबाट थापा पत्नी अञ्जना केसीका साथ आइतबार बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ मा पुगेका हुन्।

सर्लाहीको छठघाट पुगेर छठीमाईको दर्शन तथा पूजापाठ गरेपछि उनी आइतबार राति वीरगन्ज पुग्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

सोमबार बिहान पत्नीका साथ वीरगन्ज-१० स्थित घडिअर्वा छठघाट पुगेर पूजापाठ तथा दर्शन गर्ने कार्यक्रम छ। त्यसपछि उनले वीरगन्जका अन्य छठघाटको समेत भ्रमण गरी व्रतालु तथा श्रद्धालुसँग भेटघाट र शुभकामना आदानप्रदान गर्नेछन्।

कांग्रेस वीरगन्ज महानगर कार्यसमितिका सचिव भाजु राउत कुर्मीले सार्वजनिक गरेको कार्यतालिकामा थापा सोमबार बिहान ४ः३० बजे घडिअर्वा छठघाट पुग्नेछन्।

त्यसपछि बिहान ५ बजे नगवा प्रहरी चौकीनजिकको छठघाट र ५ः४५ बजे छपकैयाँ छठघाट पुग्ने कार्यक्रम छ।

छठघाटको भ्रमणपछि उनले स्थानीय चिया पसलमा चिया पिउँदै स्थानीयसँग अनौपचारिक संवाद तथा अन्तरक्रिया गर्नेछन्।

त्यसैगरी, बिहान ९ देखि १० बजेसम्म पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा आगन्तुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। बिहान १०ः३० देखि ११ बजेसम्म वीरगन्ज-१४ स्थित पिपरामा आयोजना हुने प्रदीप गिरी फेलोसिप शुभारम्भ कार्यक्रममा थापा सहभागी हुनेछन्।

बिहान ११ः३० देखि ११ः४५ बजेसम्म वीरगन्ज-३० स्थित बेलवामा निर्माणाधीन सामुदायिक स्वास्थ्य केन्द्रको स्थलगत अवलोकन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी लिने कार्यक्रम छ। 

त्यसपछि सोमबार साँझ थापा काठमाडौँ फर्किने कार्यक्रम छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पत्नी निकिता पौडेलसँग छठ पर्व मनाउन शनिबारदेखि जनकपुरमा छन्। उनी पनि सोमबार काठमाडौं फर्किने छन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार