
चितवन। नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा संयुक्त पर्यटन विकास गर्ने उद्देश्यले आयोजित ‘नेपाल–भारत क्रस-बोर्डर टुरिजम कनेक्ट २०२६’ सम्पन्न भएको छ। ‘सीमा जोड्दै, मित्रता बढाउँदै, पर्यटन विकास गर्दै’ भन्ने नाराका साथ अक्टोबर २५ देखि २७ सम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। नेपालमा भारतीय पर्यटकको आगमन बढाउने, भारतमा नेपाली पर्यटनको प्रवर्द्धन गर्ने तथा दुवै देशका पर्यटन व्यवसायीबीच दीर्घकालीन व्यावसायिक साझेदारी विकास गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।
कार्यक्रमको उद्घाटन रुपन्देहीस्थित बेलहिया–सुनौली सीमा नाकामा भारतीय प्रतिनिधिमण्डलको स्वागत तथा औपचारिक समारोहसँगै गरिएको थियो। लुम्बिनी प्रदेश पर्यटन प्रवर्द्धन परिषद्की कार्यकारी निर्देशक शारदा बस्याल बेलबासे, भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसनका अध्यक्ष राजेश सिंह, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका प्रतिनिधि डा. केपी सिंह तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेर्चनलगायतको उपस्थितिमा रिबन काटेर कार्यक्रम उद्घाटन गरिएको थियो।

भ्रमणका क्रममा रामग्राम, अमलटारी, मौलाकालिका, सौराहा, मेघौली, चितवन तथा नवलपुरका विभिन्न पर्यटकीय गन्तव्य, होटल र रिसोर्टको अवलोकन गरिएको थियो। सहभागीहरूले रामग्रामको धार्मिक तथा ऐतिहासिक महत्त्व, अमलटारीको थारू संस्कृति, मौलाकालिकाको धार्मिक पर्यटन, सौराहाको जंगल सफारी तथा मेघौली र नवलपुरको प्राकृतिक सौन्दर्य र आतिथ्य सेवाबारे जानकारी लिएका थिए।
कार्यक्रममा नेपाली होटल तथा रिसोर्ट सञ्चालक र भारतीय ट्राभल तथा टुर सञ्चालकबीच व्यवसायी–व्यवसायी (बीटुबी) भेटघाट, पर्यटन सञ्जालीकरण तथा व्यावसायिक अन्तरक्रिया गरिएको थियो। नेपालका पर्यटन गन्तव्यलाई भारतीय बजारसँग जोड्ने, संयुक्त पर्यटन प्याकेज निर्माण गर्ने, अनुभव आदानप्रदान गर्ने तथा नियमित व्यावसायिक सम्पर्क विस्तार गर्ने विषयमा छलफल भएको थियो।
भारतबाट ग्रिनवेज ट्राभल्स, एसएमएच होलिडेज, सुविधा ट्राभल्स, इजिटाइम टु ट्राभल, गो ट्राभल गुरु, एसटीए ट्राभल्स, शुभी ट्राभल्स, ओनेइरो भ्याकेसन्स, नमस्कार ट्राभल सर्भिसेज, मान्सा ट्राभल्स, सचान टुर्स एन्ड ट्राभल्स प्रालि, एएलसीसी होलिडेज एलएलपी, लक्सट्रिपर होलिडेज प्रालि, उत्सव ट्राभल्स, फ्लाइस्टेप होलिडेज प्रालि, एलोरस्टार ट्रिप, होलिडे अड्डा, ट्राभल पफ, सागा लक्जरी र एपेक्स अल्फा कनेक्टरलगायतका ट्राभल तथा टुर कम्पनीका प्रतिनिधि सहभागी भएका थिए। आयोजकका अनुसार यस प्रकारको प्रत्यक्ष अन्तरक्रियाले नेपाललाई भारतीय पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न र पर्यटन व्यवसायका नयाँ अवसर सिर्जना गर्न सहयोग पुर्याउनेछ।
चितवनको लटौली रिसोर्टमा आयोजित समापन समारोहमा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति प्रमुख अतिथि थिए। कार्यक्रमको अध्यक्षता एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोम नाथ सापकोटाले गरेका थिए। कार्यक्रम संयोजक लक्ष्मण थापाले कार्यक्रमका गतिविधि र उपलब्धिबारे जानकारी गराएका थिए भने लटौली रिसोर्टका महाप्रबन्धक विमल पौडेलले रिसोर्टको परिचय दिएका थिए।
समृद्ध चितवन अभियानका संयोजक तारानाथ पौडेल र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेर्चनले स्वागत मन्तव्य राखेका थिए। भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसनका प्रतिनिधि राजेश सिंहले भ्रमणको अनुभव साझा गरेका थिए। पाटा नेपाल च्याप्टरका नरेन्द्र भट्ट, पर्यटन विज्ञ पीके शेर्पा, काठमाडौं जिल्ला होटल व्यवसायी संघका अध्यक्ष सुरेश बराल तथा अन्य प्रतिनिधिले पर्यटन सहकार्य र संयुक्त प्रचारप्रसारबारे धारणा राखेका थिए।
प्रमुख अतिथि मन्त्री प्रजापतिले यस्ता कार्यक्रमले पर्यटन क्षेत्रका सरोकारवालाबीच सम्बन्ध विस्तार तथा व्यावसायिक साझेदारीका अवसर सिर्जना गर्ने बताए। समारोहमा सहभागीलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो भने भारतीय प्रतिनिधिमण्डलले पनि मायाको चिनो प्रदान गरेको थियो।
कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेर्चन, उपाध्यक्ष प्रवीण गुरुङ, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंह, पाटा नेपाल च्याप्टरका नरेन्द्र भट्ट, पर्यटन विज्ञ पीके शेर्पा, सुरेश बराल, विमल पौडेल, लक्ष्मण थापा, तारानाथ पौडेल तथा भारतीय सामग्री निर्माता एवं टोली संयोजक ऋषि अरोरालगायतको सहभागिता रहेको थियो। बैदेशिक रोजगार खबर बाट



