कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

काठमाडौ । रसुवामा बाढीपछि हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेसँगै हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सहयोगमा प्राप्त उक्त खोप नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोग फैलिन नदिन आवश्यक औषधि, खोप, स्वास्थ्य सामग्री तथा जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले निर्देशन दिएकी छन्।

मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउनेसँगै रोग निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ। सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिनुका साथै आवश्यकताअनुसार स्वास्थ्यकर्मी परिचालन गर्ने तयारीसमेत गरिएको छ।

बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेपछि दूषित पानीका कारण हैजा लगायतका पानीजन्य रोग फैलिन सक्ने जोखिम बढेको हो। स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा रोगको रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।

बाढी प्रभावित बस्तीमा सुरक्षित खानेपानीको उपलब्धता, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिलाई समेत तीव्रता दिइने मन्त्रालयले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार