
करिब अर्धदशकदेखि निर्देशनबाट टाढा रहेका निर्देशक राज चाम्लिङ पुनः निर्देशनमा फर्किएका छन्। उनले वि.सं. २०७० सालमा गायक कुबेर राईको ‘छोडी जान्छु’ बोलको गीतबाट निर्देशन यात्रा सुरु गरेका थिए। त्यसयता सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका चाम्लिङले सुदूरपूर्वमा बसोबास गर्ने लिम्बू समुदायको जीवनशैलीमा आधारित नेपाली कथानक चलचित्र बैना बट्टा समेत निर्देशन गरेका छन्।
प्रेमराज लावती निर्माता रहेको उक्त चलचित्रको राष्ट्रिय नाचघर, जमलमा भब्य प्रिमियर गरिएको थियो। दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको चलचित्र पूर्वका विभिन्न हलमा विशेष प्रदर्शनसमेत गरिएको थियो। चलचित्रमा देवेन्द्र नेम्बाङ, कविता बान्तवा, बाबु मोक्तान ( बीएल, ) नैना कला आङ्देम्बे, रोमन लिम्बु लगायतका कलाकारको बेजोड अभिनय रहेको छ।

कोरोना महामारीका कारण उक्त चलचित्र हलमा प्रदर्शन हुन सकेन। त्यसपछि मेलिना राईको स्वर, सन्तोष राईको संगीत तथा बिमा थुलुङको शब्द रहेको ‘आमा’ गीत निर्देशन गरेपछि चाम्लिङ केही समय निर्देशनबाट टाढिएका थिए।
पछिल्लो समय ‘सिरिसिरी हावा चल्यो’ गीतमार्फत उनी पुनः निर्देशनमा फर्किएका हुन्।

संयोग पनि रोचक छ। मेलिना राईको स्वर रहेको गीत निर्देशन गर्दै निर्देशन क्षेत्रबाट केही समय टाढिएका चाम्लिङ पुनः मेलिना राईकै स्वर रहेको ‘सिरिसिरी’ गीतमार्फत निर्देशनमा फर्किएका छन्। उक्त गीतका गीतकार गणेश चेम्जोङ हुन् भने संगीत कृष्णकुमार राईको रहेको छ।
सजिना, रायन लगायतका कलाकारको अभिनय रहेको उक्त भिडियो प्रेमा लामाले छायांकन गरेका हुन्। रोमानियाको राजधानी बुखारेस्टका विभिन्न स्थानमा छायांकन गरिएको भिडियो चाँडै रिलिज गर्ने तयारी भइरहेको निर्माण टोलीले जनाएको छ।



