
ललितपुर,। याक्थुङ (लिम्बू) जातिको मौलिक ज्ञानपरम्परा तथा धार्मिक अनुष्ठानमा प्रयोग हुने विशिष्ट शब्दहरूको अर्थ, पहिचान र सन्दर्भ समेटिएको ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ सार्वजनिक भएको छ। डीबी आङ्बुङ र विष्णुदत्त आङ्बुहाङको सङ्कलन तथा लेखनमा मुन्धुम एकाडेमीले प्रकाशन गरेको उक्त कृति शुक्रबार ललितपुरमा आयोजित समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँलाले सार्वजनिक गर्नुभएको हो।
पुस्तक सार्वजनिक समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि काइँलाले याक्थुङ समुदायका लागि यस शब्दकोशले महत्त्वपूर्ण काम गरेको बताउनुभयो। मुन्धुममा प्रयोग हुने विशिष्ट शब्दहरूको अर्थ र सन्दर्भलाई अभिलेखीकरण गर्ने प्रयासले समुदायको मौलिक ज्ञान संरक्षणमा योगदान पुर्याउने उहाँको भनाइ थियो। तथापि, याक्थुङ भाषामा प्राविधिक तथा पारिभाषिक शब्दावली निर्माणको आवश्यकता अझै रहेको उहाँले औँल्याउनुभयो। यस क्षेत्रमा इच्छुक व्यक्ति तथा अनुसन्धानकर्ताहरूले काम अघि बढाउनुपर्ने र किरात याक्थुङ चुम्लुङजस्ता संस्थाले यस्ता कार्यमा समन्वय तथा सहकार्य गर्नुपर्ने उहाँले बताउनुभयो।

कार्यक्रमका सभापति तथा अर्का लेखक एवं इतिहासकार भगिराज इङ्नामले याक्थुङ (लिम्बू) भाषाका शब्द सङ्कलन तथा अध्ययनको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्नुभयो। उहाँका अनुसार लिम्बू भाषाका शब्दहरूको सङ्कलन र अध्ययन सन् १८११ देखि नै विभिन्न विदेशी लेखक तथा अन्वेषकहरूले सुरु गरेका थिए। त्यसपछि वि.सं. २०१० देखि स्वदेशी अध्येताहरूबाट पनि यस क्षेत्रमा विभिन्न काम हुँदै आएका छन्। यद्यपि, याक्थुङ भाषाको शब्दसम्पदा र मौलिक ज्ञानपरम्परालाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्न अझै धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो। याक्थुङ भाषा प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा स्थापित भइसकेको सन्दर्भमा यसको शब्दभण्डार, अध्ययन र प्रयोग विस्तारका लागि थप काम गर्नुपर्ने उहाँको भनाइ थियो।
लिम्बू–नेपाली र अंग्रेजी भाषामा तयार गरिएको शब्दकोशमा सिरिजङ्गा, देवनागरी र रोमन लिपि प्रयोग गरिएको छ। याक्थुङ समुदायको मौखिक तथा लिखित ज्ञानपरम्परा ‘याक्थुङ साम्जिक मुन्धुम’मा प्रयोग हुने विशिष्ट शब्दावलीको अर्थ, पहिचान र परिभाषा यसमा समेटिएको छ। विशेषगरी मुन्धुम वाचन तथा कर्मकाण्डीय परम्परामा प्रयोग हुने दुईपदीय मुन्धुमी शब्दका दुवै पदको अर्थ र सन्दर्भसमेत व्याख्या गरिएको छ।
मुन्धुम याक्थुङ जातिको मौलिक ज्ञानको प्रमुख स्रोत हो। यसमा धार्मिक अनुष्ठान र कर्मकाण्डीय वाचनसँगै पुर्खाहरूका ऐतिहासिक अनुभव, सामाजिक स्मृति, प्रकृतिसम्बन्धी ज्ञान, जीवनदर्शन तथा सांस्कृतिक अभ्यासहरू समेटिएका हुन्छन्। मुन्धुममा प्रयोग हुने विशिष्ट शब्दहरूको अर्थ र सन्दर्भ पहिचान गरी अभिलेखीकरण गर्ने उद्देश्यले शब्दकोश तयार गरिएको लेखकद्वयले बताएका छन्।
याक्थुङ भाषामा गीत, सङ्गीत, पालाम, हाक्पारे, साम्लो, साहित्य तथा मुन्धुम लेखनका गतिविधि विस्तार भइरहेका बेला मुन्धुमी शब्दकोशको आवश्यकता महसुस गरी यो कृति प्रकाशन गरिएको हो। याक्थुङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिइएको सन्दर्भमा भाषाको शब्दसम्पदा र मौलिक ज्ञानलाई व्यवस्थित गर्ने कामले थप महत्त्व राखेको छ।



