तौल घटाउने २५ तरिका….

१. धैर्य गर्नुहोस्– तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त लामो समयदेखि चल्दै आइरहेको तपाईंको जीवनशैलीको नतिजा हो । यदि तौल कम गर्नु छ भने धैर्य गर्नुहोस् । बेन्जामिन फ्र्यांकलिनले भनेका छन्, ‘जोसंग धैर्य हुन्छ, चाहेको कुरा पाउन सक्छ’ । तौल घटाउन पनि समय लाग्छ । शुरुको एक दुई हप्ता तपाईंको तौलमा कुनै अन्तर नआउन पनि सक्छ, तर, यसो भयो भन्दैमा धैर्य गुमाउनु हुँदैंन, केही समय पर्खनुहोस्, विस्तारै तौल घट्दै जानेछ ।

२. आफ्नो प्रयासमा विश्वास गर्नुहोस् – तौल घटाउन आफूले गरेको प्रयासप्रति विश्वास गर्नुहोस् । यदि तपार्इंं दैनिक जीम गैरहनुभएको छ, तर, तपाईं जीम गएपनि केही फाइदा छैन भन्नुहुन्छ भने तपाईंको अचेतन मनले पनि त्यही कुरा मान्छ र त्यसबाट तपाईंलाई केही फाइदा हुँदैंन । त्यसैले आपूmमा परिवर्तन ल्याउनुछ भने सकारात्मक सोच राख्नुहोस् र आफ्नो प्रयासमा विश्वास गर्नुहोस् ।

३. दृश्यांकन गर्नुहोस्– तपाईं कस्तो देखिन चाहनुहुन्छ, आफूलाई त्यस्तै गरी कल्पना गर्नुहोस् । सक्नुहुन्छ भने कोठाको भित्ता या कम्प्युटर स्क्रीनमा त्यस्तो फोटो राख्नुहोस्, जस्तोे तपाईं देखिन चाहनुहुन्छ । जसबाट तपाईंको लक्ष्य प्राप्ति सम्भव हुन सक्छ ।

४. नाश्तापछि पानीलाई मुख्य ड्रिंक बनाउनुहोस्– नास्ताको बेला सुन्तलाको रस, चिया, दूध लिन सकिन्छ, तर, त्यसपछि दिनभर पानीमात्र प्रयोग गर्नुहोस्, कोल्ड ड्रिंक छुँदा पनि नछुनुहोस् र चिया कफीमा पनि नियन्त्रण राख्नुहोस् । यसबाट तपाईंले दैनिक करिब २ सय ५० क्यालोरी कम गर्नु सक्नुहुनेछ ।

५. पेडोमिटरको प्रयोग गर्नुहोस्– पेडोमिटर एक यस्तो यन्त्र हो, जसले तपाईंको हरेक हिडाईंको गन्ति गर्छ । यसलाई आफ्नो बेल्टमा लगाउन सकिन्छ र हरेक बिहान १ हजार पाइला थप चाल्न प्रयास गर्नुहोस् । अधिक तौल भएको मानिसले दिनभरमा दुई देखि तीन हजार पाइलामात्र चाल्न सक्छ । यदि यसमा २ हजार पाइला बढी चाल्यो भने तौललाई स्थिर राख्न सकिन्छ ।

६. डायरी बनाउनुहोस्–जे खाइन्छ, त्यसलाई डायरीमा उतार्ने बानी गर्नुहोस् । अध्ययनका अनुसार डायरी बनाउनेले अन्य मानिसभन्दा १५ प्रतिशत कम खान्छन् ।

७. कति क्यालोरी खानुहुन्छ त्यसमा १० प्रतिशत थप्नुहोस् – यदि तपाईं दैनिक १८०० क्यालोरी भएको खाना लिनुहुन्छ, तर, तौल नियन्त्रण भएको छैन भने तपाईं आफ्नो क्यालोरीको गलत अनुमान लगाईरहनुभएको छ । तपाईंले आफ्नो अनुमानित क्यालोरीमा १० प्रतिशत थप्नुहुन्छ भने अनुमान बढी मिल्न सक्छ । जस्तै १८०० क्यालोरीमा १० प्रतिशत अर्थात् १ सय ८० थपेर १९८० क्यालोरी लिन सक्नुहुन्छ ।

८. ४–५ पटक थोरै थोरै खानुहोस– दक्षिण अफ्रिकामा भएको एक अध्ययनले के देखाएको छ भने बिहान, दिउँसो, बेलुकी खानुको सट्टा ५–६ पटक थोरै थोरै खाने मानिसले ३० प्रतिशत कम क्यालोरी उपभोग गर्छ । दिनको धेरैपटक खाँदा शरीरले कम इन्सुलिन निकाल्छ जसले ब्लड सुगरलाई सही राख्छ र भोक पनि कम लाग्छ ।

९. दैनिक ४५ मिनेट हिड्नुहोस्– दैनिक ३० मिनेट टहलिनाले तपाईंको शरीरमा तौल बढ्न पाउँदैंन, यदि तौल घटाउन चाहनुहुन्छ भने कम्तीमा पनि ४५ मिनेट टहलिनुस् । यसो गर्ने भने खानपानमा परिवर्तन नल्याइकन पनि तपार्ई एक वर्षमा कम्तीमा पनि १५ किलो तौल घटाउन सक्नुहुनेछ । तर, टहलिने काम भने बिहानको स्वच्छ हावामा गर्नुपर्छ । यसका लागि बिहान सबेरै उठ्ने बानी बसाल्नुस् ।

१०. निलो रंगको बढी प्रयोग गर्नुहोस्– निलो रंगले भोक कम गर्छ, यहीकारण रेष्टरेन्टहरुमा यसको प्रयोग कम हुन्छ । यस्तै, खाना खाँदा निलो प्लेट प्रयोग गर्नुहोस्, टेबलमा निलो कपडा प्रयोग गर्नुहोस् ।

११. आफ्नो पूरानो कपडा दान दिनुहोस्– यदि तपार्इंले तौल घटाइसक्नु भएको छ भने आफ्ना पूराना ठिक नभएका कपडा दान दिनुहोस् । यसो गर्नाले एक त तपाईंलाई दान दिन पाएकोमा आत्मसन्तुष्टि हुनेछ भने अर्कोतिर फेरि मोटाएमा कपडा किन्नुपर्नेछ भनेर तपाईं तौल नियन्त्रणमा उत्प्रेरित हुन सक्नुहुनेछ ।

१२. खाना खान सानो प्लेट प्रयोग गर्नुहोस्– अध्ययनका अनुसार जति भोक लागेपनि यदि तपाईंको अगाडि थोरै खाना राखिएको छ भने थोरै खानुहुनेछ र धेरै खाना राखिएको छ भने धेरै खानुहुनेछ । त्यसैले कम खाना खान सानो थालमा थोरै खाना राखेरै खानु उपयुक्त हुनेछ । चिया कफीका लागि पनि सानो कप नै प्रयोग गर्नुपर्छ ।

१३. खाना खाने ठाँउमा ऐना लगाउनुहोस्– के पनि भनिन्छ भने यदि खाना खाने ठाउँमा ऐना लगाउने भने मानिस आफ्नो शरीर देखेरै तौल कम गर्नतिर लाग्छ ।

१४. पानी बढी भएको खाना खाने– पेल्सिभेनिया स्टेट युनिभर्सिटीमा भएको एक अध्ययनले के पाइएको छ भने गोलभेंडा, लौकाजस्ता कुरा खानाले क्यालोरी कम हुन्छ ।

१५. कम चिल्लो भएको दुध प्रयोग गर्ने– चिया, कफी बनाउँदा या दूध पिउँदा कम चिल्लो भएको दुध मात्र प्रयोग गरौं, यस्तो दुधमा क्याल्सियम बढी र क्यालोरी कम हुन्छ ।

१६. ९० प्रतिशत खाना घरमै खाऔं– सकेसम्म घरमै खाने बानी बसालौं । बाहिरको खानामा बढी चिल्लोपदार्थ र बढी क्यालोरी हुन्छ, यसबाट बच्नुपर्छ ।

१७. बिस्तारै खानुहोस्– बिस्तारै खाँदा तपाईंको दिमागले पेट भरिएको संकेत पहिल्यै गर्नेछ र तपाईंले कम खानुहुनेछ ।

१८. भोक लागेपछि मात्र खानुहोस्– हामी भोकै नलागी त्यत्तिकै पनि खान्छौं, कतिपय मानिसहरु बोर लाग्दा, नर्भस हुँदा या बानी लागेका कारण पनि त्यत्तिकै खान्छन् । तर यसो गर्नु ठीक होइन, वास्तवमै भोक लागेपछि मात्र खानुहोस् ।

१९. जूसको सट्टा फल खानुहोस्– जूसको सट्टा फल खानुहोस्, फलले जुसको तुलनामा भोक पनि कम गर्नेछ र अन्य खाना कम खानुहुनेछ ।

२०. बढी हिड्नुहोस्– जति बढी हिड्नुहुन्छ, उति बढी तपाईंको क्यालोरी खर्च हुन्छ । लिफ्टको ठाँउमा सिढीको प्रयोग गर्नुहोस्, वरिपरीका ठाउँमा पैदलै हिड्नुहोस्, अन्यत्र सम्भव नभएपनि कमसेकम दिनको एकदुईपटक छतको चक्कर मार्नुहोस् ।

२१. हप्तामा एकपटक कुनै ग¥हौं काम गर्नुहोस्– हप्तामा कम्तीमा पनि एकपटक ग¥हौं काम गर्नुहोस्, जस्तो कि आफ्नो बाइक वा कार आफैं धुन सक्नुहुन्छ, बच्चाको साथमा घुम्न जान सक्नुहुन्छ, आफ्नो जीवनसाथीलाई घरको काममा सहयोग गर्न सक्नुहुन्छ ।

२२. साँझ कम खानुहोस्– अध्ययनका अनुार तपाईं जति बढी दिनको समयमा खानुहुन्छ, रातको समयमा उतिनै कम खानुहोस् । तपाईंले दिउँसो खाएको खानाको क्यालोरी रातको समयमा खर्च हुने सम्भावना बढी हुन्छ ।

२३. नाच्नुहोस्– समय पाउनेबित्तिकै र अवस्थाले साथ दिएसम्म गीत बजाएर नाच्नुहोस्, यसो गर्दा तपाईंलाई मनोरन्जनका साथै क्यालोरीपनि खर्च हुन्छ । यदि नृत्यलाई रुटिन बनायो भने झन् बढी राम्रो हुन्छ ।

२४. कागती र मह प्रयोग गर्ने– हरेक बिहान हल्का मनतातो पानीमा कागती र मह मिसाएर सेवन गर्नाले तौल कम हुन्छ ।

२५. दिउँसो खाना खानुअघि ३ गिलास पानी पिउने– यस्तो गर्नाले भोक कम लाग्छ । यदि तपाईं तौल घटाउन चाहनुहुन्छ भने भोक लागेको बेलामा केही थोरै खानाले लाभ मिल्छ ।

स्वास्थ्य खबरपत्रिका

मुख्य समाचार