रक्षा नेपालः बलात्कृतको पुनस्थापना केन्द्र कि यातना गृह ?

काठमाडौं, १७ जेठ – पाथिभरा च्यानल  । रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले पुनस्र्थापना गरिएकी बालिका पूजा बोहरालाई देखाएर विदेशी दाताहरुबाट लिनुसम्म लाभ लिइसकेपछि उनलाई निकालकी छिन् । र, मेनुकाले निकालेपछि अलपत्र परेकी पूजाले एकजना रक्षा नेपालकै यातनाबाट पीडित अर्की बलात्कृत किशोरीका आफन्तको शरणमा पुगिन् । रक्षा नेपालबाट असुरक्षित भएपछि शरण लिन पुगेकी पूजाविरुद्ध मेनुकाले उल्टै प्रहरी परिसर काठमाडौंमा मानसिक सन्तुलन गुमेको, लागूऔषध दुब्र्यसनी भनेर उजुरी दिएकी छिन् । मेनुकाले रक्षा नेपालबाट निकालेपछि प्रहरीमा पुगेकी पूजालाई न्याय दिनुको साटो प्रहरीले समेत सास्ती दियो । त्यसपछि उनी आफूजस्तै रक्षा नेपालको अन्यायको शिकार भएर निकालिएकी अर्की किशोरी मानुषीका अभिभावकको घरमा शरण लिन पुगेकी थिइन्

त्यसरी शरण लिन पुगेकी पूजालाई शरण दिने प्रदीप घिमिरेलाई समेत रक्षाले ललाइ फकाई लगेको उजुरी दिएर दुःख दिएकी छिन् । र, मानवताको नाताले पूजालाई शरण दिएका घिमिरेमाथि पनि प्रहरीमा उजुरी दिइएको छ । प्रहरीका उच्चपदस्थ हाकिमहरुसँगको चिनजानका आधारमा उनले बलात्कृतलाई उल्टै फसाउने चालबाजी गरेपछि पूजाले साहसकका साथ बिहीबार रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरिन् । र, मेनुकाले बलात्कृतहरुलाई पुनस्र्थापना गरेपछि कसरी यातना दिन्छिन्, कसरी पुनस्र्थापनापछि उनीहरुका नाममा विदेशी दाताहरुबाट पैसा झार्न प्रयोग गर्छिन्, नभएका झुटा कथाहरु कसरी मिडियामा दिन्छिन् भन्ने कुराको एक एक विवरण सार्वजनिक गरेकी छन् ।

रक्षा नेपालकी मेनुकाले बलात्कारको शिकार भएका बालिका र किशोरीलाई पुनस्र्थापनाका नाममा थप पीडा दिने गरेको पूजामाथि उनले गरेको ज्यादतिले खुलासा गरेको छ । मेनुकाले पेटभर खान नदिने र राति १२ बजेसम्म भाँडा माझ्न लगाउने, आफ्ना भित्री बस्त्र समेत पुनस्र्थापना गरिएका चेलीलाई धुन लगाउने काम गर्दैआएकी थिइन् । खाजा खान, स्कुलमा शुल्क तिर्न वा पोशाकका लागि पैसा मागे ‘तेरो बाउले राख्न दिएको छ र’ भनेर बलात्कृत किशोरीलाई थप आहत पार्ने काम गरेको गुनासो पनि पूजाले ब्यक्त गरेकी छिन् । मेनुकाले पुनस्र्थापना गरिएका किशोरीलाई पिट्ने कुट्ने जस्ता हिंसा पनि गरेको पूजाले रुदै पत्रकारहरुसामु बताइन् ।

सामूहिक बलात्कारको शिकार भएकी पूजालाई पुनस्र्थापना गर्न ल्याएकी मेनुकाले उनलाई पढाउने भनेर ल्याएकी थिइन् । बलात्कृत पूजालाई पुनस्र्थापना गरिसकेपछि मेनुकाले उनलाई मिडियामा गर्नुसम्म प्रयोग गरी उनलाई देखाएर सहयोग लिइन् । रक्षा नेपालले मेनुकालाई पढाएर विशिष्ट श्रेणीमा पास गराएको भन्दै मिडियामा प्रचार गराइन् । प्रथम श्रेणीमा पास भएकी पूजालाई मेनुकाले विशिष्ट श्रेणीमा पास भएको भनेर मिडियामा झुटो समाचार लेखाएको पटक्कै मन पर्दैनथ्यो । पूजालाई प्लस टु पढाउने क्रममा पनि शुल्क नदिएपछि उनले स्कुलका शिक्षकहरुलाई यथार्थ बताएर प्रमाणपत्र लिएकी थिइन् । पूजाले मेनुकाको पुनस्र्थापना केन्द्र यातना गृह भएको पीडा सुनाइन् । उनले भनिन्, उनको डलर झार्ने माध्यममात्र भएका छन् पुनस्र्थापना गरिएका किशोरीहरु ।
यसरी शोषित भइन् पूजा
समाजसेवाको आवरणमा मेनुकाले कसरी बलात्कृत किशोरीहरुको शोषण गर्थिन् त ? पूजा बोहराका अनुसार रक्षा नेपाल आएदेखि रातिको १२ बजेसम्म पनि सबैले खाएको जुठा भाँडा माझेर मात्र सुत्ने गर्दथेँ । जहिल्यै मैले भाँडा माझ्नु पर्दथ्यो । भाँडा नमाझेमा आमा र अरु सिनियर दिदीहरुले गाली गर्नुहुन्थ्यो । संस्थामा आश्रित भाईवहिनीहरुलाई काभ्रेकी पुजा कार्की र मेनुका थापा महिनावारी हुँदा लगाइएको रगतैरगतले लतपतिएको पेन्टी लगायत अन्य कपडाहरु समेत धुन लगाइन्थ्यो । अहिले रक्षा नेपालको सम्पर्क कार्यालय लैनचौरमा छ । तर, अन्य भाइबहिनीहरुलाई सतुङ्गलमा राखिएको छ । तर, कसैले सोधे गोदावारीमा राखिएको भन्दै पीडितकै परिवारका सदस्यलाई समेत झुट बोलेर भेट्न दिइन्न । बेलाबेलामा आमाले मलाई कुट्ने पनि गर्नुहुन्थ्यो । जेनतेन गरेर भएपनि मलाई पढेरै अगाडि बढ्नुपर्छ भन्ने मनसायले सहँदै आएँ । दश कक्षा पढ्दा पनि मलाई कुनै पनि किसिमका सुरक्षा दिइएन, म एक्लै पढ्न जान्थे । त्यही बस्ने अन्य भाइबहिनीलाई भने स्कुल लैजाने, ल्याउने मान्छे हुन्थ्ये । बिना फोन, बिना पैसा मलाई कति डर लाग्दथ्यो, त्यो पीडा मलाई मात्र थाहा छ ।
एसएलसी दिएर बिदा भएपछि पनि आमा मेनुका थापाले मलाई सबैले खाएको जुठा भाँडा माझ्ने र सबैको लागि खाना र खाजा पकाउने काममा मात्र लगाइरहनु भयो । तर ‘मैले आमा अंग्रेजी भाषा सिक्न जान्छु, कम्यूटर कक्षा लिन जान्छु भन्दा तेरो बाउ राम सिंहले पैसा दिन्छ भन्दै गाली गरेर टार्नु हुन्थ्यो । तीन महिने बिदामा मैले केही पनि सिक्न पाइनँ । मलाई डर, त्रासमा पारी कब्जामा मात्र राखियो । त्यसपछि ११ कक्षामा भर्ना गर्ने बेलामा पनि आमाले मैले भने बमोजिम केही गर्नुभएन । बल्लबल्ल ११ कक्षामा लैनचौरमा रहेको आदर्श योगहरीमा भर्ना गरिदिनु भयो । तर घरमा जहिले पनि सबैले खाएको जुठा भाँडा माझ्ने काम गर्दै एघार कक्षा पढेँ । १२ कक्षा लैनचौरमै रहको जनकनाथ मेमोरियलमा कर्मश पढेँ । कारण आदर्श योगहरीमा विद्यार्थी कम भएको भन्दै बन्द भयो । मेरो इच्छा विज्ञान पढेर चिकित्सक बन्ने थियो । जताततै मेरा इच्छा र चाहनालाई कुल्चिने काम गरियो ।

मलाई मेनुका थापा आमाले कहिल्यै पनि खाजा खानु भनेर एक रुपैया पैसा पनि दिनुभएन । खाजा नखाएरै १२ कक्षा पनि सकियो । १२ कक्षाको परीक्षा पश्चात ६ महिना कलेज बिदा हुँदा पनि मलाई केही पनि सिक्न दिइएन । सतुङ्गलमा रहेको घरमा लगेर सबैले खाएको जुठा भाँडा माझ्ने काममा लगाइयो । तर मलाई केही न केही सिप सिक्न इच्छा थियो । मलाई झुक्याई झुक्याई गाली गरीगरी कुनै पनि क्लास नपठाइकन घरमा भाँडा माझ्ने काम गर्नमात्र लगाइयो ।

१२ को रिजल्टमा म प्रथम श्रेणीमा उत्तीर्ण भएँ । त्यसपछि ‘ल’ पढ्ने तयारी कक्षा पढ्नुप¥यो भनेँ । संस्था र आमाबाट सहयोग प्राप्त भएन । एक्लै पढ्छु भनेर अगाडि बढेँ । तयारी कक्षाका लागि भृकुटीमण्डपको ‘ल’ कलेज गएँ । त्यहाँ जाँदा पनि जहिले गाडी भाडा माग्दा आमाले यति त हिँडेरै जा, मसँग पैसा छैन भन्दै गाली गर्नुहुन्थ्यो । मलाई बाहिर हिँड्दा लगाउने कुनै पनि कपडा किनिदिनु भएन । अरुले नयाँ–नयाँ कपडा लगाएको देख्दा मेरो मन कुटुक्क हुन्थ्यो । जता पनि मलाई विचरा ! बनाइन्थ्यो । म सहेरै बसेँ ।

म आफ्ना इच्छाहरुलाई मारेर आफै सक्षम भएपछि किनेर लगाउँला भन्दै चित्त बुझाउँथे । आफ्नो पढाइलाई अगाडि बढाउने हेतुले बिजुलीबजारमा रहेको चक्रवर्ती ‘ल’ कलेजमा पढ्न गएँ । त्यहीँँ मैले पढ्ने निधो गरेपछि आवश्यक कापीकिताब किनिदिनुस् आमा भन्दा आमाले चासो देखाउनुभएन । मैले सबैसमक्ष अनुनयविनय गरेपछि रक्षा नेपालकै लोचना नेपाल म्यामले कापी किनिदिनुभयो । तर आमाको सामु कति रुँदा–कराउँदा पनि नानाथरीका गफ लगाएर टानुहुन्थ्यो । पहिलो बर्ष लैनचौरबाट नै बिजुलीबजार धाएँ । त्यहाँ जाँदा लाग्ने गाडी भाडा माग्न धेरै गाह्रो हुन्थ्यो । मलाई माग्नै अप्ठ्यारो हुनेगरी तथानाम अपशब्दहरुले गालीगलौज गर्नुहुन्थ्यो । कहिलेकाँही मुना दिदीले दिनुहुन्थ्यो त, कहिलेकाँही तलबाट माथि र माथिबाट तल जा भनी अल्झाइरहन्थे । सहदै गएँ, आमासँग छैन् होला भन्ने भावनाले रुँदै भए पनि कलेज जाने गर्दथेँ । कलेजमा खाजा खानको लागि भनेर आजसम्म पनि पैसा दिनुभएन । कलेजमा भर्ना नगरी कलेज जानु पर्दा साथीभाइहरुले मलाई किन भर्ना नगरी पढेको ? प्रश्न गर्दा म लज्जित हुन्थेँ । त्यसपछि मलाई मानसिक तनाब हुन्थ्यो ।

कलेजमा पनि २ वटा नाम दिइएको थियो । सोही कारण मलाई साथीभाइहरुको विविध प्रश्नहरुले तनाब हुन्थ्यो । उनीहरुका प्रत्येक प्रश्नहरुको उत्तर मसँग हुँदैनथ्यो । अहिले म दोस्रो बर्षमा अध्ययनरत छु । २०७१ पुस १ गते कान्तिपुर दैनिकमा न्यूज आमाले आफैँ बढाईचढाई लेखाउनु भएको हो । अन्र्तवार्ता पनि आमाले भने बमोजिम नै दिनुपर्दथ्यो । आमाले भने बमोजिम नभनेपछि मलाई तथानाम गाली गर्नुहुन्थ्यो । रक्षा नेपालमा आश्रय लिएर बसिरहेका म जस्ता पीडित छोरीहरुमध्ये सबैभन्दा ठूलो कक्षामा पढ्ने म नै थिएँ । तर पनि कोही ठूलो मान्छे आएको बेला मलाई ११ कक्षामा पढ्छे भन्नुहुन्थ्यो । म जहिल्यै आमाको झुटप्रति चकित हुन्थेँ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार