चोरीको अभियोगमा दाङको एक होटलबाट २५ भारतीय नागरिक पक्राउ

दाङको तुलसीपुरस्थित एक होटलबाट २५ जना भारतीय नागरिक पक्राउ परेका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरास्थित मुनाल पाहुना घरमा एक सातादेखि बस्दै आएका २५ जना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले उनीहरूबाट मोबाइल सेट र ग्याँस चुल्होहरू बरामद भएको जानकारी दिएको छ।

यसैबीच पक्राउ परेकाहरूले बुधबार बेलुकादेखि थप पाँच जना बेपत्ता रहेको भन्ने जानकारी दिएको हुँदा अनुसन्धान जारी रहेको डिएसपी सापकोटाले बताए।

तुलसीपुरमा बिहिबार बिहान तीन बजेतिर भएको मोबाइल पसल चोरीमा पाँच जनाले चोरी गरेको सिसी क्यामेराको फुटेजमा देखिएको छ। उनीहरूले भन्सार छलेर ल्याएका तथा चोरीका सामानहरू गाँउ/गाँउमा लगेर विक्री गर्दै आएको तथ्य फेला परेपछि अनुसन्धानको लागि पक्राउ गरिएको डिएसपी सापकोटाले जानकारी दिएका छन्।

‘उनीहरू एक सातादेखि होटेलमा बस्दै आएको र गाँउ गाँउमा डुलेर ग्याँस चुल्हो र मोबाइल विक्री गर्दै आइरहेको सूचनाको आधारमा पक्राउ गरिएको हो,’ डिएसपी सापकोटाले भने।

भारत वराईचका नन्के शर्माको टोलीलाई सामान विक्री गर्दै गरेको अवस्थामा वाणिज्य संघको आग्रहमा बिहिबार बिहान होटलबाटै नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

यसैबीच भन्सार छलेर ल्याएका तथा चोरीका सामानहरू गाँउ गाँउमा लगेर विक्री गर्दै आएको भन्ने गुनासोको आधारमा आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय र आन्तरिक राजस्व कार्यालय तुलसीपुरलाई अनुरोध गरेको तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसीले जानकारी दिए।

पक्राउ परेका व्यक्तिहरूबाट दर्जनौं थान ग्याँस चुल्हो र मोबाइल सेटहरू समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुरमा घुमन्ते व्यापारमा प्रतिबन्ध लगाएको छ। संघको नीतिविपरित डुलेरै सामान विक्री वितरण गरेको पाइएको हुँदा त्यही सूचनाको आधारमा आफूहरूले प्रहरी र राजस्व कार्यालयलाई खबर गरेको उद्योग वाणिज्य संघका सचिव केसीले जानकारी दिए ।

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार