छिटो मन्त्री फेर्नुपर्ने समाजवादीको निर्णय, बालुवाटारमा गठबन्धन बैठक

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना चारजना मन्त्री फेर्ने निर्णय छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ।

मन्त्री फेर्ने निर्णय १७ दिनसम्म पनि अलपत्र परेपछि समाजवादीको सचिवालय बैठकले यथाशिघ्र कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेको हो।  

समाजवादी सचिवालयको जेठ २२ गतेको बैठकले सरकारमा सहभागी पाँचमध्ये चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। 

तर, उक्त निर्णयलाई कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाले चासो नदिएपछि समाजवादीले थप दबाब बढाएको हो। 

समाजवादीका सम्मानित नेता झलनाथ खनालले बुधबारको सचिवालय बैठकपछि पत्रकारहरुसँग बोल्दै आफूहरुको निर्णय यथाशिघ्र कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्ने निर्णय भएको बताए। 

‘मन्त्री हेरफेर गर्ने हाम्रो निर्णय तत्कालै कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई भनेका छौँ’, उनले भने, ‘उक्त निर्णय कार्यान्वयन गराउनका लागि हाम्रा अध्यक्ष माधवकुमार नेपाल अहिले बालुवाटार जानु भएको छ।’

अहिले दिउँसो ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताको बैठक छ। उक्त बैठकमै नेपालले पार्टी निर्णय पनि सुनाउने भएका छन्। 

खनालका अनुसार सचिवालयले पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद् बैठक डाक्ने निर्णय पनि गरेको छ। 

समाजवादीले स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

तर समाजवादीको निर्णयमा पर्यटनमन्त्री आलेसहित बाधक बनेका छन्। आलेले सार्वजनिक रुपमा पार्टीको निर्णय मान्ने बताए पनि पद जोगाउन उनैले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लविङ गरेको खुलेको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार