कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

विजयी उम्मेदवारको प्रमाणपत्र पराजित भन्दै तीन दिनमै खोसियो …

 

परासी : वडा सदस्यमा विजयी घोषणा भएकी एक महिला सदस्यलाई तीन दिनपछि पराजित भन्दै निर्वाचन अधिकृतले प्रमाण पत्र फिर्ता लगेका छन्।

नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिकाको वडा नम्बर २ बाट नेपाली कांग्रेसकी महिला सदस्य उम्मेदवार विन्दा नेपाललाई निर्वाचन अधिकृत हरिलाल पुरीले मत परिणाम सुनाउँदै निर्वाचित भएको घोषणा गर्नु भएको थियो।

विजयी जुलुसहित गाउँका मतदातासँग बधाई बटुलेर घर फर्किनु भएकी नेपाललाई तेस्रो दिन पराजित भएको जानकारी दिइएको हो। निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम घोषणा गरेको दुई दिनपछि नेपालसहित सबै विजयी उम्मेवारलाई सपथ खुवाउँदै प्रमाणपत्र वितरण गरेको थियो। २ गते मतपरिणाम घोषणा गरेर ४ गते सपथसहित प्रमाणपत्र वितरण गरिएको नेपाली कांग्रेसबाट विजयी हुनु भएका वडा सदस्य मुरारी घिमिरेले बताउनुभयो।

घोषणा भएको दुई दिनसम्म विजयी जुलुस मनाउन नेपालसहित कांग्रेस कार्यकर्ता गाउँ डुलेका थिए। तेस्रो दिन ४ गते बिहान सपथसहित प्रमाणपत्र वितरण गरिएको थियो तर साँझ पख अर्कै निर्वाचित भएको भन्दै प्रमाणपत्र फिर्ता लिन कार्यालय सहयोगीलाई पठाइएको घिमिरेले बताउनुभयो।

सबै दलका प्रतिनिधिको उपस्थितिमा मत परिणाम घोषणा गरिएको थियो। सपथ खाएको साँझ पख एमाले कार्यकर्ताले विरोध गर्दै कार्यालयमा ताला लगाएपछि निर्वाचन अधिकृतले पुनः मत परिणाम हेर्दै एमालेकी पुष्पा आलेको बढी मत भएको बताउनु भएको घिमिरेले जानकारी दिनुभयो।

नेपालले विजयी भएर पाएको प्रमाणपत्र स्थानीय एक पसलमा लेमिनेशन गर्न दिनुभएको थियो। पसलैबाट प्रमाणपत्र लिएर गएको घिमिरेले बताउनुभयो। एमालेकी पुष्पा आले निर्वाचित हुनुपर्नेमा मत जोड्दा त्रुटी भएको भन्दै निर्वाचन अधिकृत पुरीले नेपालको प्रमाणपत्र पसलबाट फिर्ता लिएर जानु भएको घिमिरले बताउनुभयो।

१० मतको अन्तरमा नेपाल विजयी भएको घोषणा गरिएको थियो। मत परिणाम घोषणा गर्दा नेपालको १ हजार ४९ र रानाको १ हजार ३९ सुनाइएको थियो। तेस्रो दिन १ हजार १ सय ३९ मत आलेको र १ हजार ४९ नेपालको रहेको भन्दै फेरि आलेलाई विजयी घोषणा गरिएको हो।

मत परिणाम जस्तो विषयलाई सामान्य विषय लिएर त्रुटी गर्नु निर्वाचन अधिकृतको गम्भीर लापरवाही भएको कांग्रेस कार्यकर्ताले बताएका छन्। दुई दिनसम्म विजय भएर उत्सव मनाएकी नेपाल अहिले मानसिक तनावमा रहेको घिमिरेले बताउनुभयो।

परिणाम सुनाएपछि आफूहरु विजयी उत्सवमा गएको र अहिले पराजित भएको जानकारी दिएकाले आफूहरु अन्योलमा रहेको कार्यकर्ताले बताएका छन्। पछि गएर मत परिणाम हेर्दा एमालेले जितेको देखाइयो तर मत गणना जस्तो विषयलाई सामान्य विषयमा लिँदा पहिला विजयी भएकी उम्मेदवार मात्र नभई आफूहरुलाई समेत मानसिक तनाव भएको घिमिरेले बताउनुभयो।

निर्वाचन अधिकृत पुरीले मत गणनामा त्रुटी नभए पनि कम्प्युटरमा जोड्दा गलत भएकोले सच्चाइएको बताउनुभयो। वडा नम्बर २ मा वडाअध्यक्षसहित एक सदस्य नेपाली कांग्रेले जितेको छ भने अन्य एमालेले जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उक्त गाउँपालिकामा सात वडा छन्। गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ६ वडामा नेपाली कांग्रेस र एक वडामा एमालेले अध्यक्ष जितेको छ।
विजयी घोषणा भएपछि प्रमाणपत्र लिँदैं नवलपरासी विनयी–त्रिवेणी गाउँपालिका –२ की उम्मेदवार विन्दा नेपाल । अन्नपूर्ण पोष्टबाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार