काठमाडौं, ७ जेठ । प्रमुख विपक्षी दल नेकपा एमालेले स्थानीय तहको संख्या निर्धारण कार्यदलको बैठक बहिष्कार गरेको छ ।
एमालेले कार्यदलको बैठकमा सहभागी नहुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । एमालेले स्थानीय तहको संख्या बढाउने विषयको विरोध गर्दै आएको छ ।
एमालेका मुख्य सचेतक भानुभक्त ढकालका अनुसार स्थानीय तहको पहिलो चरणको चुनाव भइसकेको र दोस्रो चरणको चुनाव आइसकेको अवस्थामा निर्वाचन आचार संहिता विपरित स्थानीय तहको संख्या बढाउन पाँदैन । उनले भने, ‘एमालेले निर्वाचन आचार संहिता विपरित हुने कुनै पनि कार्यको विरोध गर्छ । स्थानीय तहको संख्या बढाउन पाइँदैन ।’
स्थानीय तहको संख्या बढाउन उपप्रधान एवम् स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको कार्यदलले सबै दलका सांसद र नेताहरूलाई बोलाएर स्थानीय तहको संख्या बढाउने विषयमा आज परामर्श गरेको छ ।
एमालेले बैठक नै बहिष्कार गरेपछि स्थानीय तहको संख्या बढाउने सत्तारुढ दलहरूको तयारीमा थोरै भए पनि धक्का लागेको छ ।
दाङमा पनि स्थानीय तहको संख्या बढ्ने
यसैबीच, दाङ जिल्लामा पनि स्थानीय संख्या बढाउन गृहकार्य सुरु भएको छ । स्रोतका अनुसार लमही, घोराही र तुलसीपुरका साथै केही गाउँपालिकाको संख्या बढाउने तयारी भएको छ ।
घोराही उपमहानगरपालिकालाई नगरपालिका बनाएर नारायणपुर नगरपालिका अलग बनाउने विषयमा पनि अनौपचारिक छलफल भएको स्रोतले जनाएको छ ।
स्थानीय तह ठूला–ठूला भएका कारण प्रशासनिक समस्या पर्ने र जनसंख्याको आधारमा संख्या थपघट गर्ने विषयमा गृहकार्य भएको छ ।-दैनिक नेपालबाट साभार