कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नुवाकोटमा को अन्तरघाती, को खुराफाती ? यस्तो छ काँग्रेस र माओवादीभित्रको धोकाधढी…

नुवाकोट, ७ जेठ । काँग्रेसका भेट्रान खेलाडीहरुको जिल्ला नुवाकोटमा काँग्रेस नराम्रोसँग चिप्लिएको छ । बहालावाला दुई जना मन्त्री अर्जुननरसिंह केसी र डा. प्रकाशशरण महतको जिल्ला पनि हो, नुवाकोट । केसी र महतहरुको झगडामा नुवाकोटका काँग्रेसहरु बाच्छाको मिचाइमा परेका छन् । भेट हुँदा चिप्ला कुरा गरे पनि उनीहरुबीचको अन्तरघातको लामै फेहरिस्त रहेको बताइन्छ ।

त्यसैले त वियोगका यस्ता गीत घन्किएको छ, आजकल नुवाकोटमाः

थाहा पाइयो मतपत्र गनेर
छुरा हान्यो भोट अन्तै हालेर
खुराफातीले…
भोट अन्तै हालेछ अन्तरघातीले
भेट हुँदा लम्पसार पर्नीले
धोका दियो हाम्रै हो भन्नीले
खुराफातीले…
अन्तै भोट हालेर अन्तरघातीले

नुवाकोटमा १२ वटामध्ये नेपाली काँग्रेसले सदरमुकाम रहेको विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकामा हार व्यहोरेको छ । नुवाकोटका दुई वटै नगरपालिका एमालेको कब्जामा छ । यसैगरी, तारकेश्वर गाउँपालिका, ककनी गाउँपालिका, पञ्चकन्या गाउँपालिकामा काँग्रेसले हारेको छ । पञ्चकन्या गाउँपालिका डा. रामशरण महतको गाउँ हो । रामशरणको वडामा समेत एमालेले जित्यो ।

अझ बेलकोटगढी नगरपालिकाको चुनाव त झनै रोचक बन्यो । काँग्रेस र माओवादी आफ्नै कारणले गर्दा हारे । काँग्रेस र माओवादीभित्रका अन्तरघातलाई राम्रोसँग बुझेको एमालेले विजयको झण्डा फहरायो ।

माओवादीको ‘म्याच फिक्सिङ’

बेलकोटगढी नगरपालिकामा विशेषतः काँग्रेस र माओवादीकै टक्कर छ । पहिलो संविधानसभा निर्वाचनमा माओवादीकी विमला सुवदीले अत्याधिक मतले काँग्रेसका अर्जुननरसिंह केसीलाई हराइन् । साबिकको कुमरी गाविस, ओखरपौवा लगायतको क्षेत्रमा माओवादीको पकड छ ।

दोस्रो संविधानसभा निर्वाचनमा भने खेल बदलियो । माओवादीकी उनै सुवेदीलाई हराएर काँग्रेसका केसी विजयी भए । जहाँ काँग्रेस पहिलो, माओवादी दोस्रो, राप्रपा तेस्रो र एमाले चौंथो शक्ति बन्यो ।

तर, त्यही चौंथो स्थानमा रहेको एमालेले यसपटक बेलकोटगढी नगरपालिकामा सूर्यध्वजा फहरायो ।

कारण, माओवादीभित्रकै अन्तरघात अनि काँग्रेसका केसी र महतहरुको झगडा ।

बेलकोटगढीको मेयर पदमा माओवादीका पोलिटव्युरो सदस्य रामप्रसाद ढुंगाना, मुकुन्द पौडेल लगायत मेयरका दाबेदार थिए । तर, माओवादीले स्थानीय प्रभाव र लोकप्रियताको आधारमा जगत लामालाई टिकट दियो । स्थानीयस्तरमा अस्पताल चलाएका, पर्यटन क्षेत्रमा हात हालेका र तामाङ समुदायको पनि भएकाले जगत लामाले जित्ने माओवादीको निष्कर्ष थियो ।

तर, जगतले टिकट पाएपछि माओवादीका मेयरका दाबेदार रामप्रसाद र मुकुन्दहरु भोट माग्न हिँडेनन् । उनीहरुकै अन्तरघातले जगत लामा नराम्रोसँग पछारिए । बरु जगतले काँग्रेसको भोट पाए, तर आफ्नै पार्टीको भोट नपाएको नुवाकोटका माओवादीभित्र चर्चा छ । आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सक्दो बल प्रयोग गर्ने रामप्रसाद र मुकुन्दलाई कारबाही गर्नुपर्ने माग नुवाकोट माओवादीमा छ । रामप्रसाद ढुंगाना उनै हुन्, जो पञ्चायतकालमा अर्जुननरसिंह नुवाकोटको जिविस सभापति उनी उपसभापति थिए । माओवादीको केन्द्रीय नेता भएर पनि उनमा अहिले पनि पञ्चायती शैली जीवितै रहेको स्वयम् माओवादी कार्यकर्ताहरु बताउँछन् ।

बेलकोटगढी नगरपालिका प्रमुखमा एमालेका राजेन्द्र रमण खनालले ६६४३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका जगतले ६३५१ मत ल्याए ।

जगत लामाले हारिरहँदा उपमेयरमा भने माओवादीकै कविता ढुंगाना विजयी भइन् । कविता जिविसका पूर्वसभापति भरत ढुंगानाकी छोरी हुन् । ‘मेयरमा हार्ने, उपमेयरमा जित्ने भन्ने त प्रश्नै आउँदैन्, रामप्रसाद ढुंगाना र मुकुन्द पौडेलको असहयोगले गर्दा यो अबस्था आएको हो ।’- नुवाकोटका माओवादीका एक नेताले भने ।

काँग्रेसमा झन् खतरानाक खेल

यता, काँग्रेसमा पनि भयो यस्तै । अर्जुननरसिंह र उनका भाइ जगदीशनरसिंह केसीले भूपेन्द्र बानियाँलाई टिकट दिन खोजेका थिए । तर, काँग्रेस नेता प्रकाशमान सिंहले प्रतापसिंह लामालाई टिकट दिए । प्रकाशमानकै आडमा उनले मनोनयन दर्ता पनि गराए । तर, प्रतापमानलाई यसपटक पनि बलीको बोको बनाइयो । उनी यसअघि समानुपातिक सभासद् बन्ने पक्कापक्की थियो । तर, उनको पद खोसेर समानुपातिक कोटाबाट जनदीशनरसिंह सभासद् भए ।

यता, शेरबहादुर देउवा गुटबाट यादव नेपालले टिकट पाए । गुट अनुसारको उम्मेदवारी दर्ता भयो । प्रतापसिंह लामा ब्याक भए पनि केसीहरुको रोजाईका भूपेन्द्र बानियाँले बागी उम्मेदवारी दर्ता गराए । डा. रामशरण महत र प्रकाशशरण महतको भिटो प्रयोग गरेर देउवा गुटबाट टिकट पाएका यादव नेपालको काँग्रेसका केसी पक्षको भोट पाएनन् । बरु काँग्रेसका तामाङहरुले माओवादीलाई भोट दिए । किनकी काँग्रेसका प्रताप र माओवादीका जगत लामा नातेदार थिए ।

केसी पक्षका उम्मेदवार उठेको ठाउँमा पनि त्यस्तै भयो । आफ्नै कार्यकर्तामाथि महत दाजुभाई (रामशरण र प्रकाशशरण) ले अन्तरघात गरे ।

अन्तरघात र खुराफतीहरुको जगजगी चलेपछि यतिबेला नुवाकोटमा माओवादी र काँग्रेसभित्र लफडा चलेको छ ।

पञ्चायतकालपछि आएका रामप्रसाद ढुंगानाका कारण खाँटी माओवादी जगत लामा हारेको भन्दै एकातिर आक्रोशको ज्वाराभाट उर्लिएको छ भने अर्कोतिर काँग्रेसभित्रका केसी र महतहरुको झगडाहरु आरोप प्रत्यारोपले नुवाकोटका चियापसलदेखि फेसबुकका भित्तासम्म रंगिएको छ ।

काँग्रेस र माओवादीभित्र एकले अर्कालाई सत्तोसराप गरिरहँदा एमाले भने विजय उत्सव मनाउन व्यस्त छ ।दैनिक नेपालबाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent