वारेन बफेट, मार्क जुकरबर्ग र फिल नाइटबारे नयाँ तथ्यको खुलासा !

लसएञ्जलस । अमेरिकी अखबार फोब्स्र को ४ सयजना अर्बपतिको सूचीलाई विश्लेषण गर्दा धेरै फरक र नयाँ तथ्य फेला परेका छन् ।

अर्बपति बनेकाहरूको रुझान र प्रवृत्ति हेर्दा व्यापारमा विविधिताको तुलनामा विशिष्टतालाई उजागर गरेको छ । अर्थात् कुनै एउटा व्यापारमा केन्द्रित भई अगाडि बढ्दा अपेक्षा गरेभन्दा बढी सफलता हासिल भएको पाइएको छ ।

फेसबुक र मिन्ट कम्पनीमा एकजना कर्मचारी नोआह कागनले तयार पारेको विश्लेषण/रिपोर्टले त्यस्तै देखाएको छ ।

कागनले तयार पारेको रिपोर्टमा आधारित भई ‘बिजनेस इन्साइडर’ अनलाइनले सार्वजनिक गरेको विश्लेषणले व्यापारमा विविधताको साटो विशिष्टताका साथ एउटैमा केन्द्रित भएकाहरू बढी सफल भएको पुष्टि गरेको छ ।

सुरुमा वारेन बफेट, मार्क जुकरबर्ग र फिल नाइटलाई आफ्नो उदाहरण बनाएको छ । यी तीनजना अर्बपतिहरूको व्यापार अन्य विभिन्न उद्योग/कम्पनीबाट चम्के पनि सुरुमा तिनीहरूको एउटै मात्र व्यापार थियो ।

त्यसैमा तिनीहरू बढी केन्द्रित भई धन आर्जन गरेका थिए । अर्थात् तीनजना पहिले एउटै व्यापारलाई आआफ्नो च्यानल वा रणनीति बनाएर अघि बढेका थिए ।

वारेन बफेट बर्कसायर हाथावेमा लगानी गरी ७३ दशमलव २ अर्ब अमेरिकी डलरको सम्पत्ति बनाए भने जुकरबर्ग फेसबुकबाटै ६१ दशमलव ७ अर्ब अमेरिकी बराबरको धन जोड्न सफल भएका थिए । त्यस्तै नाइक कम्पनीकै कारण फिल नाइटले २४ दशमलव ३ अर्ब अमेरिकी डलर बरोबरको सम्पत्ति बनाएका थिए ।

अर्को कुरो अर्बपतिहरू झनै अर्बपति हुनुको कारणचाहिँ तिनीहरू मानिसको आवश्यकतामा केन्द्रित भएर अघि बढ्नु पनि हो । विशिष्ट क्षेत्रमा अतिकेन्द्रित रणनीतिहरू बनाएर अघि बढ्दा व्यापार थप फराकिलो बन्छ ।

तर, धेरै मानिस ठान्छन्, विविधताले कुनै पनि व्यापारलाई विस्तार गर्नमा सहयोग पुर्‍याउँछ । विविध व्यापार र उद्योगको विपक्षमा रहेकाहरूले यसलाई अस्वीकार गरेका छन् ।

अनलाइनले अर्को उदाहरणका रूपमा स्टेभ जब्सलाई अघि सारेको छ । उसले जब्सले एप्पललाई कसरी बचाए ? भनेर आफ्नो विश्लेषणमा बेलिविस्तार गरेका छन् । अनलाइन लेख्छ, सन् १९७६ मा ‘एप्पल आई’ को सुरुआत एउटै मात्र उत्पादनबाट भएको थियो ।

कम्पनीको विस्तार भएपछि एप्पल टोलीले विभिन्न बजारहरूलाई लक्षित गरी नयाँ ब्रान्डहरू ल्याउन सफल भयो । सन् १९९१ मा म्याकिन्तोस क्वाद्राको बजार उच्च विन्दुमा रह्यो । त्यसपछि सन् १९९२ मा परिवारलाई लक्षित गरी म्याकिन्तोस फरफर्मा सेरिज कम्पनीले ल्यायो ।

त्यस्तै सन् १९९३ मा मिड–रेन्जको म्याकिन्तोस सेन्ट्रिस लाइन पनि ल्यायो । यी उत्पादनहरू परिचयात्मक यन्त्रका रूपमा विभिन्न मूल्य विन्दुमा बिक्री भएका थिए । कम्पनीको सुरुमा विभिन्न सेग्मेन्ट बजारमा ल्याउने लक्ष्यका साथ अघि बढेको थियो । तर, त्यो सम्भव हुन सकेन ।

तीनवटा उत्पादनहरू ९० को दशकमा ल्याए पनि त्यसले अपेक्षा गरेअनुरूपको लाभ कम्पनीलाई प्राप्त हुन सकेन । फेरि यी उत्पादनहरू त्यस बेला ल्याइएको थियो, जब विश्वव्यापी रूपमा कम्प्युटरलाई स्वीकार गरिएको थिएन ।

किनभने उपभोक्ताहरूले यी उत्पादनहरूबीच फरक बुझ्न नसकेर कन्फुजनको अवस्थामा थिए । तीनैवटा उत्पादनलाई एउटै ठानेका थिए, उपभोक्ताहरूले ।

फलस्वरूप सन् १९९४ देखि १९९७ सम्म प्रत्येक वर्ष कम्पनी घाटामा गएको थियो । सन् १९९७ मा मात्रै कम्पनीले ७ सय ८ मिलियन अमेरिकी डलर घाटा बेहोर्नुपरेको थियो । तर, कम्पनी आफ्नो यही उत्पादनमा केन्द्रित रह्यो, अन्य व्यापारमा हाम फालेन ।

आफ्नो विशिष्टता जोगाउनका यी उत्पादहरूलाई जीवितै बनाउने सोचमा कम्पनी रहेको थियो । यसै क्रममा आफ्नो घाटा जोगाउन सन् १९९७ मा कम्पनीले स्टेभ जब्सलाई भित्र्यायो । तत्कालै स्टेभले आवश्कताहरूमा केन्द्रित भई काम गर्न थाले ।

जब्स कम्पनीमा पुन: प्रवेशअघि एप्पलका एक दर्जनजति विभिन्न मोडलका कम्प्युटर बजारमा थिए । तर, सन् १९९८ मा एप्पलका चारवटा मोडलहरू पावर म्याकिन्तोस जी ३, म्याकिन्तोस सर्भर जी ३, पावरबुक जी ३ सेरिज र आइम्याक जी ३ बजारमा रहेका थिए ।

आफ्ना यी उत्पादनहरूमा अतिकेन्द्रित भएपछि कम्पनीको नाफा ३ सय ९ मिलियनसम्म पुग्यो ।

जब्सले आफ्नै भनाइलाई चरितार्थ गर्न कम्मर कसेर लागेपछि उनी एप्पल कम्पनी जोगाउन सफल भएका हुन् । उनले एउटा अन्तर्वार्तामा भनेका थिए, ‘धेरै मानिसले काममा केन्द्रित हुनुलाई आफूले पाएको कामलाई ‘सही’ भन्नु मात्रै भएको ठान्छन् तर यो सधैं लागू नहुन सक्छ ।

त्यसैले ‘नो’ भन्न सक्नुपर्छ । ‘नो’ शब्दले सयौं नयाँ विचारहरू ल्याउन सक्छ, जसले मानिसलाई सफल बनाउँछ ।’ जब्सको ‘नो’ शब्दले कम्पनीलाई पुनर्जीविन दिन सफल भएको हो ।

अन्त्यमा, धेरै मानिस आफ्नो व्यापारलाई विस्तार गर्न नयाँ सोच वा तरिकाको खोजीमा अनावश्यक समय र ऊर्जा खर्च गर्छन् । त्यो ठीक नभएको विश्लेषण गरिएको छ ।

किनभने एकैपटकमा धेरै व्यापार थाल्दा कुनै पनि उद्यमीरव्यापारीसँग पहिलेदेखि भएको व्यापारमा केन्द्रित हुन असम्भव हुन्छ ।

घाटा लाग्यो भनेर केही उद्यमीहरू अन्य व्यापारमा हात हाल्छन् । अझ एकैपटकमा धेरै व्यापारमा हाम फाल्नेहरू पनि भेटिन्छन् । हुन त कहिलेकाहीँ यसमा सफलता पनि प्राप्त हुन सक्छ तर बढी असफलता नै हात पर्छ । – एजेन्सी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार