राष्ट्रपति बन्न खनाल–भण्डारीको रस्साकस्सी, कसलाई कसको साथ ?

काठमाडौं, २२ फागुन : आउँदो फागुन २९ गतेका लागि तय भएको राष्ट्रपति निर्वाचनका लागि दलहरुले आज उम्मेद्वार छान्दै छन् । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

तर, दलहरु अहिलेसम्म कसलाई उम्मेद्वार बनाउने भन्ने टुङ्गोमा पुग्न सकेका छैनन् । राष्ट्रपति उम्मेद्वार छान्ने आज अन्तिम दिन भएका कारण उम्मेद्वार खडा गर्नुपर्ने वाध्यता छ । नेकपा एमाले–माओवादी केन्द्रको भागबण्डा अनुसार राष्ट्रपति एमालेले र उपराष्ट्रपति माओवादीले पाउँदैछ । तर, उम्मेदवार भने अझै खडा भइसकेका छैनन् । एमालेले राष्ट्रपतिको उम्मेद्वार टुङ्गो लगाउन आज (मंगलबार) स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बोलाइएको बैठकको एजेण्डाहरु सार्वजनिक नभए पनि मुख्य विषय राष्ट्रपतिको उम्मेद्वार खडा गर्नु नै हुने नेताहरु बताउँछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डबीच भएको सहमति अनुसार पूरानै अनुहारलाई दाहोर्‍याउने लगभग पक्का जस्तो देखिएको छ । उम्मेद्वार मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने कि नयाँ उम्मेद्वार अघि सारेर जाने भन्नेमा दुई ध्रुवमा देखिएका छन् । भण्डारीलाई दोहोर्‍याउन नहुने पक्षधर नेताहरूले पार्टीका पूर्व अध्यक्ष झलनाथ खनाललाई राष्ट्रपति बनाउन लागिपरेका छन् ।

राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दोहोरिने इच्छा पहिलेदेखि नै देखाउँदै आएकी छिन् । जसका लागि उनले भित्रभित्रै कसरत गरिरहेकी छन् । सार्वजनिक कार्यक्रमहरु र सञ्चारमाध्यमहरुमा आफू नै अबको राष्ट्रपति दावी गर्दै आएका झलनाथ खनालले आफू राष्ट्रपतिको उम्मेद्वार बन्ने घोषणा गरिसकेका छन् । खनालले जुनसुकै परिस्थितिमा पनि आफू रिङ्ग आउट नहुने बताइरहेका छन् । उनले स्थायी समितिमा भोटिङको स्थिति आए पनि सामना गर्ने भन्दै आफ्नाहरुलाई खुलेर सहयोग गर्न आग्रह गरिरहेका छन् ।

जनताले आफूलाई राष्ट्रपति भएको हेर्न चाहेको भन्दै आएका एमाले नेता सुवासचन्द्र नेम्वाङ्ग भने राष्ट्रपतिको ब्याटल रिङबाट आउट भएका छन् । नेम्वाङ्ग निकटका नेताहरु उनलाई अगाडि बढ्न रोकिएको बताउँछन् । संस्थापन पक्ष भण्डारीको पक्षमा रहेको छ । ओलीले पहिलेदेखि नै विद्यादेवी भण्डारी नै राष्ट्रपतिमा दोहोरिने संकेत गर्दै आएका थिए । एमालेको स्थायी समिति भने खनालको पक्षमा देखिएको छ ।

कसलाई कसको साथ ?

खनालको पक्षमा अहिले सबैभन्दा ठूलो ‘ब्याक फोर्स’ एमाले उपाध्यक्ष बामदेव गौतम देखिएका छन् । गौतमको केपी ओलीसँगको सम्बन्ध चिसिएको अवस्थामा भएका कारण उनले खनाललाई साथ दिएको देखिन्छ । वाम एकताका सूत्रधार मानिएका गौतमले एकतापछिको प्रधानमन्त्री आफू नै हुने दावी गर्दै आएका थिए । तर, चुनावी परिणामका कारण उनको चाहना त्यसभन्दा अगाडि जान सकेन । माधवकुमार नेपाल पक्ष पनि झलनाथकै कित्तामा उभिएको छ । गौतम र नेपालको साथ पाएपछि झलनाथ खनाल अहिले खुलेर उम्मेद्वार बन्नका लागि लागिरहेका छन् ।

यता विद्यादेवी भण्डारीको अवस्था पनि बलियो नै रहेको छ । उनले संस्थापन पक्षबाट बलियो साथ पाएकी छन् । यस्तै माओवादी केन्द्रले पनि उनलाई पूर्ण साथ दिएको छ । जसको संकेत प्रचण्डले यसअघि नै हरियो झण्डा देखाएर गरिसकेका छन् । यसैले पनि अहिले भण्डारी टेलिफोन लबिङ्गमा लागिरहेकी छन् । अर्थमन्त्री हुने महासचिव ईश्वर पोखरेलको इच्छालाई लत्याएका केपी ओलीलाई ठेगानमा ल्याउन उनले पनि झलनाथलाई सघाउने हो भने नेपालको नयाँ राष्ट्रपति हुन खनाललाई कसैले रोक्न नसक्ने पनि स्रोत दावी गर्छ ।

कसको पल्ला भारी ?

नेकपा एमालेभित्र २६ जनाको स्थायी समितिमा २२ जनाले मात्र निर्णय प्रक्रियामा भाग लिन पाउँछन् । भण्डारीलाई ओलीको समर्थन रहेकाले मतदानकै अवस्था सिर्जना भए उनको पक्षमा १० नेता उभिने स्थिति देखिन्छ । खनालको पक्षमा पनि उपाध्यक्ष गौतमसहित १० सदस्य छन् । अर्का वरिष्ठ नेता नेपाल निकट अधिकांश नेता खनाललाई समर्थन गर्न तयार देखिएका छन् ।

यो अवस्थामा खनाल बलिया छन् । तर, उम्मेद्वार चयनमा ओलीको भूमिका महत्वपूर्ण देखिएको छ । ओलीको भूमिकाले उम्मेद्वार छनोटलाई प्रभावित गर्ने स्रोतले जनाएको छ । ओलीले सक्रिय भूमिका खेल्ना साथ नेपाल पक्ष तल–माथि हुन सक्ने समेत संकेत देखिएको छ । त्यसैले उम्मेद्वार छनोटमा माधव नेपाल निर्णायक देखिएका छन् । यस पटक एमालेभित्रै राष्ट्रपतिका लागि निकै ठूलो छलछाम हुन सक्ने नेताहरु बताउँछन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent