एमाले अडानका कारण सोडारीले विश्वासको मत लिने कार्यक्रम अनिश्चित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (शुक्रबार) विश्वासको मत लिने तयारी गरेका छन्। त्यसकै लागि अपराह्न ५ बजे प्रदेश सभा बैठक राख्ने तालिका छ। 

तर नेकपा एमालेको अडानले सोडारीले विश्वासको मत लिने कार्यक्रम अनिश्चित बनेको छ।

प्रदेश सभा बैठकअघि बस्ने भनिएको कार्य व्यवस्था परामर्श समितिको बैठक नै बस्न सकेको छैन। बिहान ८ बस्ने भनिएको बैठक पछि ११ बजेका लागि सारियो। तर अझै बस्न सकेको छैन।

‘विश्वासको मतका लागि हामी तयार छौँ। तर एमाले अझै आजका लागि तयार भएको छैन,’ माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता मानबहादुर धामी भन्छन्, ‘कार्य व्यवस्था परामर्श समितिको बैठक नै बसेको छैन। यस्तै भयो भने प्रदेश सभा बैठक स्थगित हुनसक्छ।’

नेकपा एमालेले शुक्रबार विश्वासको मत नदिने अडान लिइरहेको छ। ६ वैशाखमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी संघीय सरकारको सत्ता घटक गठबन्धनका तर्फबाट संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्।

मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र संसद्‌मा विश्वासको मत लिएर बहुमत सिद्ध गर्नु पर्ने संवैधानिक व्यवस्था छ। सोडारीलाई मुख्यमन्त्रीमा दाबी गर्दा नेकपा एकीकृत समाजवादी (४), नेकपा एमाले (१०), नेकपा माओवादी केन्द्र (१०), नागरिक उन्मुक्ति (२ रञ्जिता पक्षीय) र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीको समर्थन थियो।

५३ प्रदेश सभा सदस्य रहेको  सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। सत्तारुढ गठबन्धनको साथ रहेमा मुख्यमन्त्री सोडारीलाई सुविधा सम्पन्न बहुमत छ।

बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फ उपचुनावमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएपछि सत्तारुढ गठबन्धनलाई झनै सहज अंकगणित छ। तर उपचुनावपछि नेकपा एमाले नेकपा एकीकृत समाजवादीसँग चिढिएको छ। 

बझाङ उपचुनावमा नजिते पनि एमालेलाई हराउने गरी नेकपा एकीकृत समाजवादी भूमिका खेलेको भन्दै दुईबीच अविश्वासको दूरी बढेको हो। त्यहाँ नेकपा एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको थियो। यद्यपि उनले धरौटी पनि जोगाउन सकेनन्।

केन्द्रमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच बझाङ उपचुनावमा एमालेलाई सघाउने सहमति भएको दाबी छ। तर यसविपरीत नेकपा एकीकृत समाजवादी त्यसको विरोधमा लागेको एमाले नेताहरूको दाबी छ। 

अहिलेकै अवस्थामा एकीकृत समाजवादीका सोडारीलाई विश्वासको मत नदिने पक्षमा एमाले छ। सोडारी नेतृत्वको सरकारमा सामेल नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जितापक्षीय सांसदद्धय कैलाश चौधरी र टीका थापालाई नाउपाको संसदीय दलले सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ।

रेशम पक्षको बाहुल्य रहेको संसदीय दलका प्रमुख सचेतक खुसीराम डगौँराले दुवै सांसद नाममा छुट्टाछुट्टै पत्र लेख्दै ह्विप जारी गरेका हुन।

उनीहरु दुवै सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री छन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार