
माल्टा। किराँत याक्थुङ चुम्लुङ माल्टा र के.वाई.सी. फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रथम मुकुम्लुङ कप–२०२६ अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता आगामी ३ र ४ अक्टोबर २०२६ मा माल्टाको मोस्ता फुटबल ग्राउन्ड मा आयोजना हुने भएको छ।
आयोजकका अनुसार प्रतियोगितामा माल्टासहित युरोपका विभिन्न देशबाट फुटबल टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताका लागि टोली दर्ता प्रक्रिया खुला गरिएकोमा हालसम्म माल्टाभित्रका विभिन्न फुटबल क्लब तथा सामुदायिक टोलीहरूको उत्साहजनक सहभागिता देखिएको छ। आयोजकका अनुसार हालसम्म १९ वटा टोलीले आफ्नो सहभागिता सुनिश्चित गरिसकेका छन्।

प्रतियोगिताबारे जानकारी गराउँदै किराँत याक्थुङ चुम्लुङ माल्टाका कोषाध्यक्ष प्रकाश आङदेम्बेले पाथीभरा च्यानल लाई माल्टा बाहिर रहेका युरोपका विभिन्न देशहरूबाट पनि टोलीहरू सहभागी हुने अपेक्षा गरिएको बताउनुभयो। उहाँका अनुसार प्रारम्भिक आकलनअनुसार माल्टा बाहिरबाट करिब ५ देखि १० वटा टोली प्रतियोगितामा सहभागी हुन सक्ने सम्भावना रहेको छ।
प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदमार्फत युरोपमा रहेका नेपाली तथा किराँत समुदायबीच आपसी एकता, मित्रता, भाइचारा तथा सामाजिक सद्भावलाई थप सुदृढ बनाउनु रहेको आयोजकले जनाएको छ। साथै, विभिन्न देशमा रहेका नेपाली समुदाय, संघ–संस्था तथा खेलकुद क्लबहरूबीच आपसी सम्बन्ध विस्तार र सहकार्यलाई प्रगाढ बनाउने अपेक्षा पनि गरिएको छ।

प्रतियोगितामा सहभागी टोलीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने टोलीले ट्रफी, मेडलसहित ५,००० युरो नगद पुरस्कार प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीलाई ट्रफी, मेडलसहित २,५०० युरो प्रदान गरिने आयोजकले जनाएको छ। यसका अतिरिक्त उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलकिपरलाई समेत विशेष पुरस्कार प्रदान गरिनेछ।
युरोपेली स्तरको अन्तर्राष्ट्रिय आमन्त्रित प्रतियोगिताका रूपमा आयोजना हुन लागेको मुकुम्लुङ कप–२०२६ ले प्रवासमा रहेका नेपाली तथा किराँत समुदायलाई खेलकुदमार्फत एकै थलोमा जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास आयोजकको रहेको छ। आयोजकले प्रतियोगितामा सहभागी हुन इच्छुक युरोपस्थित फुटबल क्लबहरूलाई समयमै टोली दर्ता गराउन तथा खेलप्रेमी, संघ–संस्था, सामाजिक अभियन्ता र शुभेच्छुकहरूलाई प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।



