पूर्व अधिराजकुमारी प्रेरणालाई सरकारको ३५ दिने ‘अल्टिमेटम’

काठमाडौं, २५ बैसाख । सरकारले पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह बस्दै आएको घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको फैसलाअनुसार नेपाल ट्रष्टको कार्यालयले सिंहलाई घर जग्गा खाली गराउन पत्र काटेको छ ।

प्रेरणा राज्यलक्ष्मी सिंहलाई घर जग्गा खाली गराई दिन काटिएको पत्रमा भनिएको छ– ‘नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका–१३ छाउनी मार्गस्थित नक्सा नम्बर ११०३–१२, कित्ता नं २५ क्षेत्रफल ७ हजार ६६४ दशमलव ४० वर्ग मिटर (१५ रोपनी) को जग्गा हालसम्म तपाईंले उपयोग गर्दै आउनु भएको बुझिएको हुँदा र तपाईंले नेपाल ट्रष्टको कार्यालयलाई विपक्षी बनाई दायर गर्नु भएको उत्प्रेषणको मागदाबी समेत पुनरवलोकन हुँदा माग दाबी नपुगी ट्रष्टको नाममा कायम भएको सर्वोच्च अदालतको मिति २०७३ माघ २१ गतेको फैसलाअनुसार उक्त पत्र काटिएको छ ।’

ट्रस्टको कार्यालयले आइतबार काटेको पत्रमा पत्र प्राप्त भएको मितिले ३५ दिनभित्र घरजग्गा सम्पूर्णरूपले खाली गराउन आग्रह गरिएको छ । सिंहले सर्वोच्चमा दायर गरेको पुनरावलोकन मुद्दामा सर्वोच्चले तत्कालीन राजाले आफ्नो हक नै नलाग्ने राष्ट्रिय सम्पत्ति छोरीलाई दाइजो दिएको र ‘विजया घर’ नेपाल ट्रष्टको नाममा राखिनु संवैधानिक रहेको फैसला गरेको थियो । फैसला भएको एक वर्ष वितिसक्दा समेत घर जग्गा खाली नभएपछि नेपाल ट्रष्टले सिंहलाई घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेट दिएको हो ।

ट्रष्टको कार्यालयले आवश्यक सहयोग–समन्वय गरिदिन गृह मन्त्रालय र काठमाडौं महानगरपालिकालाई बोधार्थ पठाएको छ । सर्वोच्च अदालतले फैसला गरेको एक वर्ष बितिसक्दा समेत सिंहले उक्त विजया घर छोडेकी छैनन् । सर्वोच्च अदालतले गरेको फैसलाअनुसार तत्कालीन अधिराजकुमारी विजया राज्यलक्ष्मी देवी शाह राजा त्रिभुवनकी अविवाहित छोरी हुन् ।

उनको जीवन गुजारा राज्य स्रोत र दरबारबाटै हुने गरेको थियो । उनको नाममा रहेको हाल कायम कि.नं २५ को जग्गा एवम् सोमा निर्मित ‘विजया घर’ राजपरिवारका सदस्यहरू वा वारिसहरूबीचमा बाँडिने प्रकृतिको सम्पत्ति भएको भए उनको जीवनकालमै वा परलोकपश्चात निजको हकदारको नाममा स्वतः नामसारी भई जाने थियो । तर, उक्त सम्पत्ति व्यक्तिको नाममा नामसारी नभई तत्कालीन दरबारको नियम र व्यवस्थाअनुसार राज संस्थाका प्रमुख तत्कालीन राजा श्री ५ वीरेन्द्रको नाममा आएकोमा राजा वीरेन्द्रको देहान्तपछि उक्त घर–जग्गा राज संस्थाको नाममा नै रहेको थियो ।

अन्तरिम संविधान–२०६३ को संवैधानिक व्यवस्था र नेपाल ट्रष्ट ऐन–२०६४ ले ल्याएको कानुनी व्यवस्थाअनुसार स्व. राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूका परिवारको देहावसान हुँदाका बखत उनीहरूको नाममा रहेको सम्पत्ति एवम तत्कालीन दरबारको सम्पत्तिको स्वामित्व राष्ट्रमा आई नेपाल ट्रष्टअन्तर्गत राष्ट्रहितमा प्रयोग हुने भन्ने उल्लेख गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार