कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

काम नसकिँदै भत्कियो नारायणगढ-मुग्लिन सडक

चितवन — नारायणगढ-मुग्लिन सडक खण्ड विस्तारको काम नसकिँदै भत्कन थालेपछि टाल्नु पर्ने भएको छ । निर्माण हुँदै गरेको जुगेडी नजिक भतेरीको जंगलमा झण्डै ५० मिटर सडक भत्किएपछि फेरि मर्मत गर्न आयोजनाको परामर्शदाता कम्पनीले निर्देशन दिएको छ ।

निर्माणाधिन नारायणगढ मुग्लिन सडकको जुगेडी भतेरी नजिक भत्केको सडक ।

‘तलबाट पुरेर ल्याएको ठाउँ भत्केको देखिएको छ । त्यसलाई सामान्य मर्मतले हुँदैन । फेरि भत्काएर लगभग ५० मिटर सडक पुरै बनाउनु पर्ने भएको छ’ नारायणगढ-मुग्लिन सडक आयोजनाको परामर्शदाता कम्पनीका आवाशीय इन्जिनियर (आरई) पुष्कर रेग्मीले भने । निर्माणाधिन सडक खण्डमा देखिएको यो अलि ठूलो समस्या हो ।

३६ किलोमिटर लम्बाईको नारायणगढ-मुग्लिन सडकको ३३ किलोमिटरलाई एसियाली मापदण्डअनुरुपको दुई लेनको बनाउने काम भइरहेको छ ।

विस्तारका लागि सडकलाई तीन खण्ड बनाएर फरक फरक निर्माण कम्पनीलाई जिम्मा दिइएको छ । सडक भत्केको ठाउँ आँपटारीदेखि दासढुंगासम्म अर्थात् पहिलो खण्डअन्तर्गत पर्छ । त्यो खण्डमा भारतीय कम्पनी बीएलए र नेपाली श्रेष्ठ कन्स्ट्रक्सन (एससीसी) ले संयुक्त रुपमा (जेभी) निर्माण गरेका छन् । बीएलए एससीसी जेभीका कन्ट्रयाक्ट म्यानेजर प्रभु जोशी सडक चौडा बनाउन खाडल पुरेको ठाउँमा समस्या आएको बताउँछन् । त्यो ठाउँमा सामान्य मर्मत गरेर नहुने भएकाले पुरै भत्काएर नयाँ बनाउन निर्देशन दिएको आयोजनाका अधिकारीहरुले बताए ।

‘तलबाट पुरेर ल्याएको ठाउँ भत्केको देखिएको छ । त्यसलाई सामान्य मर्मतले हुँदैन । फेरि भत्काएर लगभग ५० मिटर सडक पुरै बनाउनु पर्ने भएको छ’ नारायणगढ-मुग्लिन सडक आयोजनाको परामर्शदाता कम्पनीका आवाशीय इन्जिनियर (आरई) पुष्कर रेग्मीले भने । निर्माणाधिन सडक खण्डमा देखिएको यो अलि ठूलो समस्या हो । अन्य केही साना साना समस्याहरु पनि देखिएको र सुधारको निर्देशन दिएको उनले बताए ।

निर्माण कम्पनीको कन्ट्रयाक्ट म्यानेजर जोशीका अनुसार पुग-नपुग सात मिटर फराकिलो सडकलाई ११ मिटर बनाउँदा त्यो ठाउँमा तलबाट माटो पुरेर ल्याएको थियो । ‘लगभग तलबाट १० मिटर जति पुरेर सडक चौडा बनाएको हो । त्यो ठाउँमा अहिले समस्या देखियो । अघिल्लो वर्ष पनि केही समस्या आएको थियो’ जोशीले भने, ‘तल ग्याबिन राखेका थियौं । त्यसैमा हलचल आएर सडक चर्कने र भाँसिने भएको होला ।’

निर्माण पूरा भएको वर्ष दिनभित्र सडकमा समस्या आए निर्माण कम्पनीले नै मर्मत र सुधार गर्नु पर्ने हुन्छ । सो खण्डमा अहिले ९८ प्रतिशतको हाराहारीमा मात्रै काम सकिएको छ । बिग्रेको खण्ड बनाउन निर्माण कम्पनीले बीमा कम्पनीबाट रकम पाउने छ । ‘सडक बिग्रेपछि त्यसको जानकारी हामीले बीमा कम्पनीलाई दिएका छौं । बीमाले आएर हेरेपछि काम अगाडि बढ्छ । अबको दुई सातापछि भत्केको ठाउँमा फेरि बनाउने काम सुरु हुन्छ होला’ कन्ट्रयाक्ट म्यानेजर जोशीले भने ।

तीन खण्डमध्ये पहिलो खण्ड तुलनात्मक रुपमा काम गर्न सजिलो ठाउँ हो । तर, काम तीव्र गतिमा हुन सकेको थिएन । यो ठाउँभन्दा अफ्ठ्यारो क्षेत्र मानिएको दासढुंगादेखि सिमलतालसम्मको दुई नम्बर खण्डमा एक महिनाअघि नै लगभग काम सकिएको थियो ।

नारायणगढ-मुग्लिन सडक विस्तारको काम ०७२ सालको वैशाखबाट सुरु भएको थियो । सम्झौता अनुसार ०७४ सालकै वैशाखमा काम सकिनु पर्दथ्यो । तर, पटक पटक म्याद थप्दा पनि काम सक्न गाह्रो भएको छछ । पछिल्लोपटक थपेको म्याद एक महिनाअघि नै सकिएको थियो । अहिले कालोपत्रेको काम मात्रै केही हदसम्म सकिएको छ ।

राजधानी काठमाडौंलाई देशको पूर्व-पश्चिम भागसँग जोड्ने मुख्य राजमार्ग मानिएको यो सडकमा दिनहुँ १० हजारको हाराहारीमा गाडी गुड्छन् । पछिल्लो समय पहिरोले पनि निकै दु:ख दिने गरेको स्थानीयको गुनासो छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार