गाली गरेको निहुँमा बालकको हत्या

बझाङ — छबिस पाथीभेरा गाउँपालिका ७, मजखोरीका महेश बोहोराका ९ वर्षीय छोरा कुशलको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ । गाली गरेको निहुँमा उनको हत्या गरिएको हो ।

सोही ठाउँका ध्वज बोहोराका १७ वर्षीय छोरा तिलकले बालकको हत्या गरेको स्विकारेका छन्। तिलकले उनलाई चाउचाउ किन्न पठाएको र समयमै नफर्केपछि किन ढिला गरेको भनेर एक थप्पड लगाउँदा कुशलले गाली गरेपछि ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

‘छाडा छाडा गाली गर्न थाल्यो, लात्ताले पेटमा हानेर ढलाएँ,’ तिलकले भने, ‘त्यसपछि ढुंगै–ढुंगाले हानें, ऊ बोल्न छाडेपछि मकै बारीमा लगेर ढुंगाले छोपिदिएँ।’ तिलक सूर्यदेव निमावि मजखोरीमा ८ कक्षामा अध्यनरत छन्।

कुशल स्कुलबाट फर्किएपछि बुबाको मोबाइल खेल्दै तिजको कार्यक्रम हेर्न गएका थिए। मजखोरी माविमा बुधबार भएको तीज कार्यक्रम हेर्न गएका उनको शव विद्यालयनजिकैको मकैबारीमा बिहीबार फेला परेको थियो।

साँझसम्म छोरा घर नआएपछि स्थानीयहरूले राती अबेरसम्म कुशलको खोजी गरेका थिए। भोलीपल्ट ठूलाठूला ढुंगा राखेर छोपिएको र टाउको, गाला र शरिरका विभिन्न भागमा चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो। कुशल पाथीभेरे लिटिल स्टार बोर्डिङ स्कुलमा यूकेजीमा अध्ययनरत थिए।
तिलककले हत्या गरेको स्वीकार गरिसकेको बताउँदै डिएसपी प्रविन धितालले भने, ‘हत्या उसैले गरेको हो भन्ने निश्चित भइसकेको छ। आइतबार अदालत पेस गर्छौं।’ तिलकको उमेर परिक्षणपछि कस्तो सजाय हुने भन्ने कुरा अदालतले नै निक्र्योल गर्ने धितालले बताए।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार