१६ औँ अनसन बस्न इलाम पुगे डा. केसी

फाइल तस्बिर

काठमाडौँ, १७ पुस । सरकारसँग १५ औँ अनसनमा भएको सम्झौता कार्यान्वयन नभएकोले आफ्नो माग पुरा गर्नको लागि १६ औँ अनसन बस्न डा. गोविन्द केसी इलाम पुगेका छन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा.केसीले बुधवारबाट १६ औँ सनसन बस्दैछन् । डा. केसीले आफ्नो माग पुरा गर्न सरकारसँग सम्झौता गरेको आज अर्थात् पुस १७ गते अन्तिम दिन थियो । तर, आजसम्म पनि माग सम्बोधन नगरेकोले डा. केसी सत्याग्रहको तयारीका लागि इलाम पुगेका उनका सहयोगी अभिषेकराज सिंहले ट्विटर गर्दै जानकारी दिएका छन् ।

सिंहले ट्विट गर्दै भनेका छन्, ‘१६ औ सत्याग्रहको लागि डा. गोविन्द केसीले दिनुभएको अल्टिमेटमको आज अन्तिम दिन भयकाले डा. केसी सत्याग्रहको तयारीको लागि पूर्वी नेपालको इलाम पुगिसक्नु भएको छ र यसपालिको लडाइँ इलामबाट लड्ने हुनुभयको छ । आशा छ सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन हुनेछ ।’

डा. केसीले १६ औँ अनसका लागि सरकारसँग ३ बुँदे माग राखेका छन् । डा. केसीले राखेका मागहरुः
१. १५औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस् ।
क) सम्झौताबमोजिम अक्षरसः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस् ।
ख) गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि. पदाधिकारीलगायतका व्यक्तिहरूलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गरियोस् । त्रिवि पदाधिकारीहरूद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थामै फिर्ता गरियोस् ।
ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्ने व्यवस्था गरियोस् ।
२. निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।
३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरियोस्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार