
बैतडी, २६ फागुन । ग्रेडरले किचेर एक विद्यार्थीको ज्यान गएपछि अहिले बैतडीको पाटन तनावग्रस्त बनेको छ ।
दोषीमाथि कार्वाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले चर्काएको आन्दोलनका कारण उक्त क्षेत्र तनाबग्रस्त बनेको हो । मृतकका आक्रोशित आफन्त र विद्यार्थीले राजमार्ग बन्द गराएर इलाका प्रहरी कार्यालय पाटनमा ढुङ्गामुढा प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको जनाइएको छ ।
आक्रोशित भीडले ढुङ्गामुढा प्रहार गर्न थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको जनाएको छ । इलाका प्रहरी कार्यालयभित्र घटनाका बिषयमा छलफल भईरहेका बेला बाहिरबाट ढुङ्गामुढा प्रहार भएपछि प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिएका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको छ । प्रहरीको लाठीचार्जबाट दुई जना विद्यार्थी घाइते भएका छन् । हिजो साँझ पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका–२ का १९ बर्षीय पूर्णानन्द पाण्डेयलाई ग्रेडरले किच्दा उनको घटनास्थलमा मृत्यु भएको थियो भने ग्रेडर चालक अझै फरार छन् ।



