
भारतकाे पश्चिम बंगाल राज्यमा तृणमूल कांग्रेस र भारतीय राष्ट्रिय कांग्रेसका कार्यकर्ताबीच झडप भएकाे छ । झडपमा परी कम्तीमा पनि ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय टेलिभिजन आजतकले जनाएअनुसार आज शनिबार बिहानै पश्चिम बंगालको मुर्शिदावादमा साे झडप भएकाे हाे । झडपमा परी तृणमूल कांग्रेसका कार्यकर्ता खैरुद्दीन शेख, सोहेल राणा र एक अर्का व्यक्तिले ज्यान गुमाएका छन् ।
स्थानीय प्रहरीका अनुसार घटना लगत्तै साे क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । तृणमूल कांग्रेसले आफ्ना कार्याकर्ताको हत्याको पछाडि कांग्रेसको हात रहेको आरोप लगाएको छ । हत्या हुनेमध्येका सोहेल राणा र खैरुद्दीन शेख ढोलमोल पञ्चायत समितिका अल्ताफ हुसैनका छोरा र दाइ रहेकाे खुलेकाे छ । अल्ताफकाे पनि गत लोकसभाको चुनावअघि हत्या गरिएकाे थियाे ।
भारतमा लोकसभा निर्वाचन सकिइसक्दा पनि त्यसले निम्त्याएकाे द्वेश र हिंसाको शृंखला जारी नै रहेकाे यस पछिल्लाे घटनाले पुष्टि गरेकाे छ । साे चुनावपछाडि मात्रै १० राजनीतिक कार्यकर्ताको मृत्यु भएको र मृत्यु हुनेमा धेरैजसो तृणमूलका कार्यकर्ता भएको बताइएको छ ।
शनिबारकाे घटनाबारे मृतक खैरुद्दीनका छोराले भनेका छन्, ‘हामी घरमा सुतिरहेका बेला अचानक बम हमला भयो । आक्रमणकारीले सीधै बाबामाथि हमाला गरेका थिए ।’ चुनावअघि काका अल्ताफको हत्या गर्नेहरु नै यसपटक पनि हमामा उत्रिएकाे उनकाे भनाइ छ । ती हमलाकारी राष्ट्रिय कांग्रेसका कार्यकर्ता रहेकाे उनले बताएका छन् ।
समाचार साभार : एजेन्सी



