तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको हत्या

२७ पुस, वीरगञ्ज । लक्ष्मीपूजाको दिन, ०७७ कात्तिक २९ गते पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरीमा आगलागी भयो । राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको प्रारम्भिक खबर अयो । प्रहरीमार्फत आएको सूचनालाई सञ्चारमाध्यमले सोहीअनुसार सम्प्रेषण गरे ।

तर अहिले सो घटना भवितव्य नभइ तल्लो जातको केटासँग लागेको भन्दै आमा-बुवाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको खुलेको छ ।

सुरुमा प्रहरीलाई घरमा आगलागी भयो भनेर मात्रै जानकारी दिइएको थियो । दमकलको सहयोगमा आगो निभाएपछि भित्र माना कुमारीको शव भेटियो । उनी निदाएकै अवस्थामा जलेर मरेको भन्ने दाबी परिवारजनले गरे । तर घटनास्थलमा अनुसन्धानका लागि पुगेका प्रहरी अधिकृतले शवको प्रकृति हेरेपछि शंका गरे ।

घटना शंकास्पद देखिएपछि अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापा बताउँछन् । ‘पहिला भित्र मानिस छ भनेर कसैले भनेन, आगो निभाउन मात्रै केन्द्रित भयौं । पछि भित्र शव भेटियो भन्ने खबर आयो,’ उनले भने, ‘घटनास्थल पुगेर हेर्दा तल खाटमात्रै जलेको देखियो, खाँबाहरु हेर्दा माथिबाट आगो लागेको जस्तो देखिन्थ्यो । घटना शंकास्पद लागेपछि अनुसन्धान सुरु गर्‍यौं ।’

छोरीसँगै सुत्ने गरेकी आमा लालमती देवी सकुशल थिइन् । छोरीको उद्धारका लागि कसैले प्रयास नगरेको बुझेपछि प्रहरीको आशंकामा बल पुग्यो । प्रहरीले अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेको भनेर हत्या गरेको रहस्य खुल्यो ।

मृतककी भाउजु २२ वर्षीया मनिषा देवीले नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताएकी थिइन् ।

लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको हत्या गरेको स्वीकार गरिन् । लालमतीका श्रीमान मनाबोध फरार छन् । उनको नाममा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनी पुर्पक्षका लागि कारागारमा छिन् ।

लक्ष्मी पूजापछि छोरीलाई जलाइन्

माना कुमारी रामनगरीकै एउटा बोर्डिङमा कक्षा ९ मा पढ्थिन् । उनलाई सोही बोर्डिङमा पढाउने शिक्षक रामबाबु चमारले होम ट्युसन पढाउने गर्दथे । घरमा दुहुना भैंसी पालेकोले छिमेकी काका पर्ने नगिना साह मानाको घरमा दिनहुँ दूध लिन आउँथे । केही दिनदेखि माना कुमारी कसैलाई थाहा नदिई रातिको समयमा घरबाट सुटुक्क निस्किन थालेकी थिइन् । आमा लालमती देवीलाई यो कुरा थाहा पाइन् । उनलाई छोरीको गतिविधि मन परिरहेको थिएन । नगिना र शिक्षक रामबाबुको छोरीसँग केही न केही सम्बन्ध छ भन्ने शङ्का उनलाई थियो । त्यसैले उनीहरु घरमा आएको पनि मन पर्न छोडेको थियो लालमतीलाई ।

कात्तिक २७ गते धनतरेशको किनमेल गर्न पोखरिया जान्छु भनेकी थिइन् माना कुमारीले । आमा लालमतीले श्रीमानसँग मागेर एक हजार रुपैयाँ दिइन् । पोखरियाबाट फर्किंदा लेगिज, जिन्स पाइन्ट, पार्चुनको समान, मोजासमेत किनेर ल्याएकी रहिछन् ।

एक हजारमा यति धेरै सामानहरु कसरी किनिस् भनेर अभिभावकले प्रश्न गरे । माना कुमारीले काका नगिनासँगै बजार गएको र उनैले एक हजार रुपैयाँ सापटी दिई सामान किनिदिएको बताइन् । त्यसपछि आमाले छोरीलाई गाली गर्दै कुटपिटसमेत गरिन् ।

कात्तिक २९ गते साँझ ६ बजे घरपरिवारका सबै सदस्यले लक्ष्मीपूजा गरेर खाना खाएर ८ बजेतिर सुत्न ओछ्यानतिर गएका थिए । छोरी सुतिन् । आमा लालमती र बुवा मनबोधले भने छोरीले इज्जत गुमाएर समाजमा मुख देख्न नसक्ने अवस्था आउनसक्ने निष्कर्ष निकाले र आगो लगाएर मारिदिनुपर्छ भनेर सल्लाह गरे । त्यसपछि आमा पनि छोरीसँगै सुत्न गइन् ।

छोरी निदाइसकेपछि कपडामा मट्टीतेल छर्किएर आगो लगाइदिइन् । घरमा आगो लागेकोजस्तो देखाउन फुसको छानामा समेत आगो झोसिन् । त्यसपछि आफूहरु बाहिर निस्किएर बाहिरबाट ढोका बन्द गरिदिएको आमा लालमतीले प्रहरीसँगको बयानमा बताएकी छन् ।

बुहारी मनिषादेवीले आगो निभाउन खोज्दा छोरालाई लिएर भागिहाल् भनेर गाली गरेको र नगिना साह आएर आगो निभाउन खोज्दा बाँसको भाटाले टाउकोमा हानेर आगो निभाउन नदिएको लालमतीले बताएकी छन् । पछि छिमेकीअरु जम्मा भएर आगो निभाएका थिए ।

पहिला विष खुवाएर मारेको हो वा सीधै जलाएको हो भन्नेबारे प्रहरी अनुसन्धानले स्पष्ट पार्न सकेको छैन । पोष्टमार्टम गर्दा भिसेरा निकालेर परीक्षण गर्नुपर्नेमा चिकित्सकले त्यसो नगरेका कारण अनुसन्धान कमजोर बनेको प्रहरी स्रोतले जनाएको छ । घटनासँग सम्बन्धित अन्य व्यक्तिहरु पनि फरार रहेकाले उनीहरुको खोजी जारी छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent