राउटे युवतीलाई होटलमा यौनहिंसा, थप अनुसन्धान गर्न इन्स्पेक्टरको नेतृत्वमा खटियो प्रहरी टोली

सुर्खेतमा केही युवाहरूले राउटे समुदायकी दुई युवतीलाई होटलमा लिएर यौनहिंसा गरेको खुलेको छ।

सुर्खेतको बोटेचौरस्थित एउटा होटलमा राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडिओ सार्वजनिक भएको छ।

सार्वजनिक भएको उक्त भिडिओमा एक जना पुरूष अर्धनग्न अवस्थामा छन् भने राउटे युवती ओछ्यानमा पल्टिएका छन्।

ती पुरूषले एक जना राउटे युवतीलाई बहिनी र अर्कीलाई श्रीमती भनेर सम्बोधन गर्छन्। श्रीमती भनिएकी युवतीलाई उनले संवेदनशील अंगमा छुने गरेका छन्।

नसामा रहेकी राउटे युवतीले ‘डिस्ट्रब भयो के दाइ जानु’ भनेको भिडिओमा सुनिन्छ। ती पुरूषले उल्टै ओछ्यानमा पल्टेर राउटे युवतीमाथि अश्लील हर्कत गरेका छन्।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका-९ बोटे चौरका ३५ वर्षीय चमनसिंह घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका मिलन पुनलाई आइतबार बिहान ३ बजे पक्राउ गरेको छ।

मिलन पुनले सञ्चालन गर्दै आएको बोटेचौरस्थित शुभकामना होटल तथा रेष्टुरेन्टमा जेठ २१ गते राति ९ बजे उनीहरूले दुई जना राउटे युवतीलाई मदिरा खुवाएर अश्लील भिडिओ बनाएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

‘हामीसँग आएको प्रमाणबाहेक थप अध्ययनका लागि हामीले प्रहरी निरीक्षकको नेतृत्वमा सम्बन्धित ठाउँमै टोली पठाएका छौं, थप प्रमाण पनि आउला,’ उनले भने।

फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय पछिल्लो समय सुर्खेत र दैलेखका विभिन्न स्थानमा बस्दै आएका छन्। अहिले उनीहरू गुर्भाकोट नगरपालिका-११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका छन्।

उनीहरू बसेको ठाउँदेखि बोटेचौर बजारनजिकै पर्छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार