घाटबाट शव ल्याएर आफन्तले गरे वीरगञ्जको भवानी अस्पतालमा तोडफोड, चार जना प्रहरी नियन्त्रणमा

बिरामीको मृत्यु भएपछि आफन्तहरूले वीरगन्जको भवानी अस्पतालमा तोडफोड गरेका छन्।

आइतबार अस्पतालमा तोडफोड गरेको र चिकित्सकहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

वीरगन्ज महानगरपालिका वडा नम्बर २० मनियारी बस्ने ३८ वर्षीया रमिता देवीको मुटुको समस्या भएपछि उपचारको लागि वडा १५ मा रहेको भवानी अस्पतालमा ल्याइएको थियो।

त्यहाँ ल्याएपछि आइतबार बिहान साढे ११ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।
‘चिकित्सकले मृत घोषणा गरेपछि आफन्तहरूले लिएर गएका थिए। तर घाटमा लगेपछि मुख खोल्यो भनेर आफन्तहरूले फेरि अस्पताल ल्याएका थिए,’ पाण्डेले भने।

त्यसपछि आफन्तले मानिस ज्युँदै रहेको भन्दै साढे १ बजे पुन: अस्पताल लगेका थिए।

‘फेरि चेक गरेर पनि चिकित्सकले मृत्यु भइसकेको भनेपछि आफन्तहरूले आक्रोशमा आएर तोडफोड गरेका थिए,’ उनले भने।

त्यहाँ करिब १५-२० जनाको टोलीले तोडफोड गरेको प्रहरीले जनाएको छ। उनीहरूले अस्पतालमा विवाद गरी कार्यरत डाक्टर र नर्ससँग हातपात गरेका थिए। अस्पतालको ग्यालरीको एउटा शिशा र टेलिफोन सेट क्षति भएको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरीको टोली खटिएर चार जनालाई नियन्त्रणमा लिएको छ। विरगञ्ज महानगर-१६ बस्ने ३२ वर्षीय राकेश राम, ५४ वर्षीय सुरेश राम, २२ वर्षीय अच्छेकुमार राम र बारा परवानीपुर गाउँपालिका वडा ४ बस्ने २८ वर्षीय भिम राम पक्राउ परेका छन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार