१० जना एमाले सांसदले रोजे एकीकृत समाजवादी, एक सातामै अल्पमतमा परे मुख्यमन्त्री आचार्य

नेकपा एमाले प्रदेश १ का १० सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।

उनीहरूले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन्।

ती एमाले सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।

राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ।

मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन्।

प्रदेश सरकार जोगाउन एमालेलाई ४७ मत आवश्यक पर्छ। ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ। जसमा एमालेसँग सभामुखसहित ५१ सदस्य छन्। तीमध्ये एक जना सांसद गुलेफुन खातुन फौजदारी अभियोगमा अदालतले कैद सजाय सुनाएकाले फरार छिन्।

उनी अनुपस्थित रहँदा एमालेमा ५० जना सांसद थिए। यसमध्ये १० जनाले समाजवादी रोजेपछि एमालेको सांसद संख्या ४१ मा झरेको छ। यो संख्यामा एक जना सभामुख पनि छन्। बराबरी अवस्थामा निर्णायक मत दिनेबाहेक सभामुखले मतदान गर्न पाउँदैनन्। यसरी एमालेको कूल मत संख्या अब ३९ मा झरेको छ।

प्रदेशसभामा कांग्रेससँग २१, माओवादीसँग १५ र जनता समाजवादीसँग ३ जना सांसद छन्।

यी तीन दलसँग जम्मा ३९ जना सांसद छन्। त्यसमा एकीकृत समाजवादीका १० जना थपिँदा ४९ जना पुगेको छ। यो संख्या सरकार ढाल्न र नयाँ बनाउन पुग्दो बहुमत हो।

गठबन्धनले संघीय लोकतान्त्रिक मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेको साथ पनि पाउने जनाएको छ। उनी थपिँदा विपक्षी गठबन्धनमा कूल संख्या ५० हुनेछ।

विपक्षी गठबन्धनमा यो संख्या पुगेपछि ज्यादै लामो संघर्षपछि मुख्यमन्त्री बनेका आचार्यको सत्तायात्रा छोटो हुने निश्चितप्रायः भएको छ।

प्रदेश स्थापना भएलगत्तैदेखि मुख्यमन्त्री बन्न निरन्तर प्रयासरत उनी तेस्रो प्रयासमा सफल बन्दै भदौ १० मा मुख्यमन्त्री बनेका थिए।

उनी मुख्यमन्त्री बनेको एक साताभित्रै अल्पमतमा परेका छन्। पार्टी विभाजन भएपछि उनले अब संसद्मा विश्वासको मत लिनुपर्नेछ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent