संखुवासभा घटना : तेजबहादुरको ज्यान लिएको देखेपछि अरुको पनि हत्या

संखुवासभाको मादी नगरपालिका-१ उमलिङ खोलाका तेजबहादुर कार्कीको परिवारको हत्या उनकै भतिजाले गरेको निष्कर्षमा प्रहरी पुगेको छ। 

ad

तेजबहादुरको भन्दा करिब डेढ सय मिटर टाढा घर रहेका २६ वर्षीय लोकबहादुर कार्कीले परिवारका ६ जनाकै हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो। 

५ दिन लामो अनुसन्धानपछि प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको छ। हत्या गरेपछि पनि लोकबहादुर घरमै थिए। उनले एक्लै सबैको हत्या गरेको स्वीकार गरिसकेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए। 

लोकबहादुरले सुरुमा तेजबहादुरको हत्या गरेको र उनको हत्या गरेको थाहा पाएपछि परिवार नै सखाप बनाएको प्रहरीलाई बताएका छन्। सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई उनले ह्याम्मरले प्रहार गरेका थियो। 

तेजबहादुरको हत्या गरेको उनकी श्रीमती कमला कार्की र बुहारी रञ्जना कार्कीले देखेपछि घटनास्थलमा पुगे। त्यसपछि उनले उनीहरुलाई पनि लखेटी लखेटी हत्या गरेको बताएका छन्। तेजबहादुरको शव सडकमा भेटिएको थियो भने कमला र रञ्जनाको शव खोल्सामा फेला परेको थियो। 

कमला र रञ्जनाको हत्यापछि उनले रञ्जनाका छोराछोरीको हत्या गरेका थिए। घर मास्तिर बारीमा उनले विपिन र गोमाको हत्या गरेका थिए। उनीहरुले आमा र हजुरआमाको हत्या गरेको देखेकाले मारेको लोकबहादुरले बताएका छन्। 

अन्तिममा तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको हत्या भएको थियो। उनी घरभित्रै खोले पकाइरहेको अवस्थामा हत्या भएको थियो। राम्रोसँग आँखा नदेख्ने र कान पनि नसुन्ने भएकाले बौद्धमान भने जोगिएका थिए।

हत्या गरिएका कार्की परिवारका सदस्यहरु

जग्गा किन्ने तयारीमा रहेका कार्की परिवारको हत्या आर्थिक कारणले भएको सुरुमा अनुमान गरिएको थियो। तर घरमा भएको नगद र गरगहना सुरक्षित भेटिएपछि प्रहरीले अन्य रिसिबीका कारण हत्या भएको हुनसक्ने अनुमान गरेको थियो। 

स्थानीयसँग लामो सोधपुछपछि प्रहरीले केही दिनदेखि नै लोकबहादुरलाई केन्द्रित गरेर अनुसन्धान गरिरहेको थियो। लोकबहादुरले तेजबहादुरले आफूलाई हेपेका कारण हत्या गरेको प्रहरीलाई बताएका छन्। 

दुई परिवारको बिचमा पहिले आर्थिक लेनदेन समेत देखिएको छ। तर लोकबहादुरको परिवारले तेजबहादुरलाई उक्त रकम तिरिसकेको पाइएको छ। 

‘ठूलो विषय छैन, छिमेकी बिचको सानोतिनो मनमुटावले नै घटना भएको देखिएको छ। तेजबहादुरले आफूलाई हेपाहा प्रवृति देखाउने गरेको र सहन नसकेर आफूले हत्या गरेको बताएका छन्’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘तेजबहादुरका दुवै छोरा विदेशमा हुँदा आर्थिक अवस्था राम्रो भएको र आफूचाहिँ विदेश जान नसकेको हीनताबोध पनि लोकबहादुरमा देखिन्छ।’

प्रहरीले सबै अनुसन्धान सकेर आजै उनलाई सदरमुकाम खाँदबारी लैजाने तयारी गरेको छ। आइतबार सदरमुकाममा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ। 

घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट डीएसपी रुगम कुँवरको नेतृत्वमा प्रहरी पुगेको छ। 

जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदी, संघीय प्रहरी इकाइबाट एसपी भीम दाहाल र प्रदेश नम्बर १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसी नेतृत्वको टोली पनि घटनास्थल पुगेको थियो। घटनाको ५ दिनपछि प्रहरीले हत्या अभियुक्त समातिएका हुन्। 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार