बाढी–पहिरो : चार दिनमा ८८ जनाको गयो ज्यान, ३० अझै बेपत्ता

काठमाडौं, ४ कातिक । मनसुन बाहिरिसकेका बेलाको बेमौसमी बर्षापछिको बाढी, पहिरो र डुबानमा परी चार दिनमा ८८ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले ८८ जनाको ज्यान गएको पुष्टि गरेको छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिरोका कारण ज्यान गएको हो । आज मात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि, बुधबार ६३ र मंगलबार १४ को मृत्यु पुष्टि भएको थियो ।

विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३-१३ जनाको मृत्यु भएको छ । यस्तै, कालिकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् ।

विपद्बाट २० जिल्ला प्रभावित भएका छन् । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । आजबाट भने मौसममा सुधार आएको छ ।

पाँचथर, इलाम, डोटी, धनकुटा, हुम्ला, जुम्ला, सुनसरी, बैतडी, कालीकोट, कञ्चनपुर, बर्दिया, कैलाली, दैलेख, दार्चुला, बाजुरा, सुर्खेत, बझाङ, मोरङ, डडेलधुरा प्रभावित भएका छन् । यस्तै, बाढी पहिरोका कारण ठाउँ–ठाउँमा पर्यटकहरु अलपत्र परेका छन् ।

उनीहरुको नेपाली सेनाले उद्धार गरिरहेको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । खबर आउना साथ हेलिकप्टर उद्धारमा खटिने विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताइन् । उनले कुनै समस्या परे गृह मन्त्रालयको ९८५११४०००५ नम्बरमा फोन गर्न पनि आग्रह गरेकी छिन् ।
विदेशी नागरिक र पर्यटकको तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले बाढी–पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक र पर्यटकलाई यथाशक्य उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले आज (बिहीबार) बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका अधिकारीहरुलाई विपद्मा परेका विदेशी नागरिक / पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका हुन् ।

बाढी–पहिरो र डुबानमा परेका नेपाली नागरिकको खोजी, उद्धार, पुनःस्थापना र राहत वितरणमा यहाँहरू निरन्तर लागिरहनु भएको छ’, सुरक्षा निकायमा प्रमुखहरुलाई गृहमन्त्री खाँणले भने, ‘नेपाल भ्रमणमा आएका र मुलुकको विभिन्न स्थानमा पुगेका विदेशी नागरिक / पर्यटक बाढी पहिरो र डुबानमा परेका खबरहरू आइरहेका छन् । उनीहरूको उद्धारमा पनि विशेष ध्यान दिनुहोला ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent