बागमतीमा नव नियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ, चार सदस्यीय मन्त्रिपरिषद

हेटौंडा, ११ कात्तिक । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपरान्ह ३ः३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्दै शपथग्रहण गराएका हुन् । उपधारा (२)मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । यसअघि नेकपा (एमाले) का नेताहरू डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

मुख्यमन्त्री पाण्डेसँग कांग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका छन् । मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रदेश सभामा नेकपा एमालेले बहुमत गुमाएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् । एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नव गठित एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेको छन् । उनलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) को समर्थन छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार