माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन : लोगो सार्वजनिक, १,५३३ प्रतिनिधि सहभागी हुने

सम्मेलनमा पाहुना नबोलाइने

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बुधवार पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले लोगो सार्वजनिक गरेका हुन् ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो ११ गतेदेखि काठमाडौंमा शुरु हुँदैछ । लोगोमा ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि’ ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन लेखिएको छ । सम्मेलनमा एक हजार पाँच सय ३३ प्रतिनिधि सहभागी हुने पनि प्रवक्ता महराले जानकारी दिए ।

सम्मेलनमा आयोजकबाट एक सय ७९, सल्लाहकारबाट एक सय ४९, ज्येष्ठ कम्युनिष्ट सदस्यबाट एक सय २५, पार्टीको आयोगबाट ७५, केन्द्रीय विभागबाट एक सय दुई, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधि नौ सय आठ र पाँच प्रतिशत मनोनितबाट ७३ जना गरी एक हजार पाँच ३३ जना सहभागी हुने भएका हुन् ।

सम्मेलनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन तयार पारिरहेको र प्रतिवेदन स्थायी कमिटीमा छलफलपछि सम्मेलनमा पेस गर्ने उनले जानकारी दिए । राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारी पार्टी र विचार निर्माण गर्ने उनले बताए । पार्टीको महाधिवशेन नभइ राष्ट्रिय सम्मेलन भएकाले देशभित्र र बाहिरबाट कुनै पनि अतिथिलाई आमन्त्रित नगर्ने महराले बताए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent