स्थानीय जनताको मर्म बुझेका चलचित्र निर्देशक नेम्वाङ वडाध्यक्षको उम्मेदवार

ठूला तथा साना पर्दाका चलचित्रमा काम गरेका निर्देशक दुर्गा नेम्वाङ वडाध्यक्षको उम्मेदवार बनेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा झापा शिवसताक्षी वडा नम्बर १ बाट उनले नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवारी दिएका हुन् । यो वडामा गठबन्धन भएको छैन ।

वडाध्यक्षका उम्मेदवार चलचित्रकर्मी नेम्वाङमा चुनावी घरदैलोमा । तस्विर: पर्वत/कान्तिपुर

तसर्थ उनी एमाले, नेपाली कांग्रेसजस्ता सशक्त पार्टीका उम्मेदवारविरुद्ध चुनावी मैदानमा छन्। उनको टिममा वडा सदस्य चन्द्र कँडेल, फडिन्द्र सुनुवार, महिला सदस्य उर्मिला गेलाल र दलित महिला सदस्यमा ज्योति रम्तेल छन् । वडामा एमालेबाट पुराना कम्युनिष्ट नेता लक्ष्मीप्रसाद चेम्जोङ, कांग्रेसबाट रमेशकुमार राई, राप्रपाबाट टीकाराम घिमिरे, राष्ट्रिय जनमुक्ति मोर्चाबाट सन्तमाया माझी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिलबहादुर लिम्बु उम्मेदवार बनेका छन् ।

नेम्वाङको पार्टीगत उपस्थिति बलियो नभए पनि व्यक्तिगत सम्बन्ध राम्रो रहेको स्थानीय मतदाताहरु बताउँछन् । स्थानीय व्यवसायी मोहन सिन्च्युरीले व्यक्तिगत सम्बन्धकै कारण नेम्वाङको चुनाव जित्ने सम्भावना बलियो रहेको बताए । उनले थपे,‘उनले बितेका ५ वर्षमा विकास निर्माणका धेरै काम पनि गरेका छन् ।’

२०७४ को निर्वाचनमा पनि उम्मेदवार बनेका उनी झिनो मतले पराजित भएका थिए । धरमपुर क्षेत्रका मतदातालाई भोट माग्दै गर्दा भेटिएका उनले भने,‘जनताले पत्याए भने यसपटक जित्ने विश्वास छ ।’

लामो समय चलचित्र निर्माणको सिलसिलमा राजधानीमै रहँदै आएका नेम्वाङले अघिल्लो चुनावदेखि भने गाउँ छाडेका छैनन् । ‘चलचित्रमा धेरै काम गरियो अब राजनीतिमा पनि अनुभव बटुल्न मन लाग्यो,’ नेम्वाङ भन्छन्,‘गाउँलेले पत्याए भने कसो नजितिएला ।’

नेम्वाङले केही महिनायता धरमपुर–पाराबारी सडक, धरमपुर–लक्ष्मीनारायण सडक, कमल खोलामा तटबन्धन निर्माण, विद्युत् पोलदेखि ट्रान्सफर्मर राख्नेलगायतका गतिविधिमा उनी आफै खटिएको स्थानीयवासीको भनाइ छ । प्रस्तावित फूलबारी रंगशाला, धरमपुर बजार व्यवस्थापन लगायतका विकास निर्माणमा सक्रियता देखाएका छन् । स्थानीय मदन विष्टका अनुसार गाउँको विकासमा नेम्वाङले धेरै काम गरेका छन् । ‘काम गर्ने नेतालाई जनताले भोट दिन्छन्’, विष्टले भने ।

नेम्वाङ किरात मिथकमा आधारित नेपाली चलचित्र ‘खाप्पुना मुरङना’का निर्देशक पनि हुन् । उनले दर्जनौं फिल्मको सहनिर्देशन, मुख्य सहायक निर्देशन गरिसकेका छन् । आमाको काख, लभ इन चाइना बोर्डर, एउटै भूल, क्याविन गर्ल, जय माँ सतासी, रातो बर्की, छालुम्मालगायतका चलचित्रमा सहनिर्देशन गरेका छन् । नेम्वाङले एक भारतीय चलचित्रमा समेत काम गरेका थिए । उनी केही वर्षदेखि माओवादी निकट लिम्बु कलाकार संघमा आबद्ध भएर राजनीति गरिरहेका छन् । कान्तिपुर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent