मधेसमा सुरक्षा थ्रेट : तराईमा ५ मिनेटमा थप सुरक्षाकर्मी पुग्ने, पहाडमा ‘स्टेन्डबाइ’ हेलिकोप्टर

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनको सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि नै सीमा नाका बन्द गरिएको छ भने सम्भावित जोखिम हुन नदिन सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । विशेष गरेर नेपालको मधेस प्रदेशमा सुरक्षा थ्रेट रहेको प्रहरीले जनाएको छ । मधेस प्रदेशमा भयरहीत मतदान गराउन सीमा नाका बन्द गरिएको छ ।

देशभरिका मतदान केन्द्रहरु मध्य मधेस प्रदेशमा रहेका १ हजार ६३ वटा मतदानस्थल र २ हजार ९९ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ । सबैभन्दा बढी धुनषाका १ सय ८३ वटा मतदानस्थल र ३ सय ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ ।

सप्तरीमा २ सय ८ मतदानस्थल र ३ सय ८० मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ भने सिरहामा १ सय ७० वटा मतदानस्थल र ३ सय ८२ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुरक्षा रणनीतिअनुसार प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै महोत्तरीका १ सय १० मतदानस्थल, २ सय १४ मतदान केन्द्र, सर्लाहीका १ सय ३ मतदानस्थल र २ सय ५ मतदान केन्द्र, रौतहटमा ८३ वटा मतदान स्थल र १ सय ६१ मतदान केन्द्र, बारामा १ सय ४४ वटा मतदान स्थल र २ सय ५६ वटा मतदान केन्द्र र पर्सामा ६२ वटा मतदानस्थल तथा १ सय ६७ मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ । त्यहाँ पनि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । प्रदेशका ८ सय ८८ वटा मतदानस्थल र १ हजार ६ सय ८६ वटा मतदान केन्द्रलाई संवेदनशील रूपमा वर्गीकरण गरिएको छ ।

जम्मा २ हजार १ सय ६३ वटा मतदानस्थल र ४ हजार १ सय ८९ वटा मतदान केन्द्र रहेकोमा २ सय १२ वटा मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्रलाई सामान्यमा राखेर सुरक्षा योजना बनाइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाल प्रहरीले एकीकृत सुरक्षा योजनाअन्तर्गत काम गरिरहेको बताए । उनले देशभरका सबै मतदान केन्द्रहरुमा म्यादी प्रहरीसमेत गरी १ लाख ६५ हजार भन्दा बढी फौज परिचालन भइसकेको बताए ।

प्रवक्ता केसीले निर्वाचनको क्रममा हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्न उच्च हिमाली भेगहरु र खुला सीमानाका भएका क्षेत्रमा पनि सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिए । उनले खुला नाका भएका क्षेत्रहरुमा साना हातहतियारको प्रयोग हुनसक्ने र निर्वाचनलाई लुकीछिपी अशान्ति मच्चाउन सक्ने तत्वहरुमाथि नेपाल प्रहरीले आफ्नो निगरानीमा राखेको बताए ।

प्रवक्ता केसीले निर्वाचनलाई भयरहीत बनाउन संगठनको तर्फबाट गर्ने कामहरु मतपेटिकाको सुरक्षा, मतदान स्थलमा खटिने निर्वाचनसँग सम्वद्ध कर्मचारीहरुको सुरक्षा, जिल्लास्थित जिल्ला निर्वाचन कार्यालयहरुको सुरक्षा, मतदान स्थलमा रहने मतदान अधिकृतहरुको सुरक्षाका सम्पूणर् जिम्मेवारीका लागि पनि नेपाल प्रहरी तयार रहेको बताए । उनले मतदानपश्चात् मतपेटिका, उम्मेदवार जित्ने र हार्ने पक्ष दुवै पक्षको सुरक्षाका लागि नेपाल प्रहरीले आवश्यक सुरक्षा योजना बनाएर त्यो अनुसारको तयारी गरेको उनले बताए ।

प्रवक्ता केसीले आसन्न निर्वाचनलाई भयरहीत, स्वतन्त्र र निष्पक्ष गराउन विभिन्न प्रविधिको प्रयोग गरेका र निर्वाचन आयोगसँग सहकार्य गरेर सिसिक्यामेरा समेतको माध्यमबाट निगरानी गर्ने काम गरिरहेको बताए । उनले ४ वटै सुरक्षा निकायहरुले जुनकुनै किसिमको चुनौतिलाई पनि सामना गर्नसक्ने गरी तयारी अवस्थामा रहेकोले मतदाताले भयरहीत वातावरणमा आफ्नो संवैधानिक हक प्रयोग गर्नसक्ने बताए ।

तराईमा ५ मिनेटमा थप सुरक्षाकर्मी, पहाडमा ‘स्टेन्डवाइ’ हेलिकप्टर,
नर्वाचनका लागि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिने संयुक्त सुरक्षा रणनीति तयार भएको छ। पहिलो घेरामा जनपद प्रहरी र दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेनाले मतदानस्थलको सुरक्षा गर्ने छन् ।
कुनै मतदानस्थलमा असहज अवस्था भए थप सुरक्षाकर्मी परिचालन गरिने तयारी रहेको छ । तराईका जिल्लामा माग भएको ५ मिनेट भित्रमा थप सुरक्षाकर्मी पुग्ने तयारी भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अधिकारीले बताए ।

फरक-फरक केन्द्र बनाएर सुरक्षाकर्मी ‘स्टेन्डवाइ’ राखिएको र आवश्यक पर्ने बित्तिकै उनीहरुलाई घटना स्थलमा परिचालन गर्ने तयारी भएको यादवले बताए । थप मद्दत आवश्यक परे हेलिकप्टरबाट समेत सुरक्षाकर्मी घटनास्थल पुर्याइने प्रदेश प्रहरी प्रमुख बिसीले बताएका छन् ।

नेपाली सेनाको २ नम्बर बाहिनी इटहरीमा निर्वाचनका लागि भनेर हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । सो हेलिकप्टरबाट पहाडी र हिमाली जिल्लामा थप सुरक्षाकर्मी लगिने तयारी भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले सुरक्षा अवस्था मजबुत बनाउन आजबाट निर्वाचन नसकिञ्जेल सम्मका लागि मदिरा बेचबिखनमा रोक लगाइएको बताए ।

उनले नेपाल भारत सीमा समेत बन्द गरिएको बताए । नेपाल भारत सिमामा संयुक्त रुपमा सुरक्षा गस्ती समेत भइरहेको उनले जानकारी दिए । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश १ को इलाम, झापा, मोरङ र सुनसरी नाका बन्द गरिएको प्रदेश-१ प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार