दमक : ओलीले चुनौती दिए, दलहरुले हराएर देखाइदिए

काठमाडौं । ‘दमकमा एमालेविरुद्ध गठबन्धन स्यालले हात्तीको खुट्टा चिथोर्नु जस्तो मात्रै हो,’ स्थानीय तह निर्वाचनको मतदान हुनुभन्दा तीन दिनअघि झापाको दमकमा नेकपा एमालेले आयोजना गरेको चुनावी सभामा अध्यक्ष केपी ओलीले भनेका थिए । सबै दल मिलेर घेराबन्दीमा पार्न खोजे पनि एमालेलाई कुनै आपत्ति नहुने उनको भनाइ थियो ।

तर शुक्रबार सम्पन्न दमक नगरपालिकाको मतगणनाको नतिजा एमालेका पक्षमा छैन । राप्रपाका रामकुमार थापाले एमालेकी प्रमुख पदकी उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मतले पराजित गरेका छन् । थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६६ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा पनि ६ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेस उम्मेदवार रेगिना भट्टराईले १७ हजार ७२ मत ल्याएर  निर्वाचित भएकी छन् ।  उनीसँग एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत ल्याएर पराजित भएका छन् ।

राप्रपाका थापालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि साथ दिएको थियो । आफ्नो गृहनगरमा सत्तारुढ गठबन्धनले राप्रपालाई समर्थन गर्ने भएपछि ओलीले दमक एमालेको किल्ला भएको भन्दै सत्तारुढ पाँच दल मिल्दा पनि हराउने आँट नभएको बताएका थिए । उनले यही कारण पाँच दल मिलेरसमेत लड्ने हिम्मत नगरेर राप्रपासँग तालमेल गर्नुपरेको भनेका थिए । ‘दमक एमालेको गढ हो, किल्ला हो । त्यसैले पाँच दल मिल्दा पनि एमालेविरुद्ध लड्ने हिम्मत गरेनन् र राप्रपासँग मिल्न बाध्य भए,’ ओलीले भनेका थिए ।

दमकको मत परिणाम सार्वजनिक भएपछि भने एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले पार्टी र नेतृत्वलाई कमजोर बनाउने योजनाको भद्दा रूप भनेर प्रतिक्रिया दिएका छन् । ‘नेपालमा बलियो राजनीतिक शक्तिका रूपमा रहेको एमाले दीर्घकालीन हिसाबले सफल नहोस् भनेर राष्ट्रिय–अन्तर्राष्ट्रिय सबै खाले तत्वहरू एक ठाउँमा उभिएर केही समयदेखि योजना बनाइरहेका थिए,’ उनले भने, ‘त्यो योजनाको अन्तिम र भद्दा रूप दमकको गठबन्धन हो ।’ गठबन्धनले नेकपा एमालेलाई हराउन एक्लै सकिँदैन भनेर सबैसँग मिल्ने उद्देश्य राखेको भन्दै उनले ६ वटा पार्टी मिलेर गरेको पराजयलाई एमालेले पराजय नै नमान्ने बताए ।

पाँच दलीय गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले यसलाई अतिरञ्जित गर्न जरुरी नभएको प्रतिक्रिया दिए । ओलीको गृहनगर दमकमा एमालेलाई पराजित गर्न राप्रपासँग भएको तालमेललाई उनी अपवाद मान्छन् । ‘गठबन्धनको नेतृत्व तहमा सैद्धान्तिक रूपमा यो किसिमको निर्णय गरेका थिएनौं,’ प्रवक्ता महतले भने, ‘हामीले राप्रपा वा एमालेसँग तालमेल गर्ने भनेर कतै औपचारिक निर्णय गरेका थिएनौँ । तर, स्थानीय तहमा विभिन्न खालका अपवाद हुन्छन् । दमक पनि त्यही अपवाद हो ।’

कतिपय ठाउँमा विशिष्टताहरू हुने भन्दै प्रतिस्पर्धाको हिसाबले दमकमा राप्रपासँग तालमेल गर्नु परेको तर्क गरे । यद्यपि, आफ्नो मुख्य प्रतिस्पर्धी एमाले र नेतृत्वको हिसाबले ओली नै भएकाले स्वभाविक हिसाबले त्यस्तै खालको चुनावी रणनीति बनेको महतले बताए । ‘उहाँ आफ्नो मात्रै चल्छ भन्ने मानसिकतामा देखिनु हुन्छ,’ उनले अनलाइनखबरसँग भने, ‘त्यो अवस्थामा स्थानीय आवश्यकताको आधारमा उम्मेदवारलाई हराउनका लागि तालमेल भएको हो ।’

पाँचदलीय गठबन्धन र ओलीको सत्ता बहिर्गमन एउटै राजनीतिक घटनाका दुईवटा परिपूरक परिणाम हुन् ।

ओलीले प्रधानमन्त्री हुँदा संसद विघटन गरे र अन्य दलहरूले गठबन्धन बनाएपछि बहिर्गमनमा परे । उनले नेतृत्व गरेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर तीन टुक्रा भयो । एउटा पुरानै दल माओवादी केन्द्र ब्यूँतियो भने एमाले पनि फुटेर एकीकृत समाजवादी बन्यो । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा समेत मिलेर बनेको गठबन्धन सरकारको नेतृत्व कांग्रेसले गर्न पुग्यो ।

सरकारबाट बाहिरिएपछि ओलीले त्यसलाई आफ्नो विकास र समृद्धिको प्रकृयामा सिर्जना गरिएको वाधा भनेर व्याख्या गरे । सुरूमा ओलीलाई बहिर्गमन गरेर सरकार सञ्चालन गर्ने उदेश्यसहित बनेको गठबन्धन अन्ततः चुनावी गठबन्धनमा रुपान्तरण भयो । एमाले क्विन्टलको शक्ति धएकाले किलोका दलहरुको गठबन्धनले केही फरक नपर्ने बताएपछि सत्तारुढ गठबन्धनले प्रतिष्ठाको विषय बनायो ।

गठबन्धन दलकै एक उच्च तहका नेताका अनुसार औपचारिक निर्णय नभए पनि ओलीलाई सबक सिकाउनु पर्छ भनेरै दमकमा राप्रपासँग तालमेल गरिएको थियो । ‘केपी ओलीमा अंहकार छ । जसलाई पनि गाली गर्नुभएको थियो, ‘सबै मिलेर आऊ, हामी एक्लै लड्छौँ’ भनेर भनेर भनिरहनुभएको थियो,’ ती नेताले भने, ‘त्यो खालको शैली र प्रवृत्तिविरुद्ध लौ न त मिलाइदिऊँ के गर्दा रहेछन् भनेर मिलाएका थियौं । उहाँको उम्मेदवार पराजित हुनुभयो ।’ यसले ओलीलाई धेरै घमण्डले गलत नतिजा दिन्छ भन्ने सन्देश दिएको ती नेताले बताए ।

पाँच दलीय गठबन्धनले ओलीबाट लोकतन्त्र र संविधानमाथि खतरा भएकाले जोगाउने आफू एक भएको बताउँदै आएको छ । तर, रोचक के छ भने गठबन्धनले ओलीबाट जोगाउने नाममा संघीयता, धर्मनिरपेक्षता लगायतका एजेण्डामा विमत्ति राखेको पूर्वराजावादी शक्तिसँग तालमेल गरेको छ । तर, गठबन्धनका नेताहरू दलको मेयरमा निर्वचित भएका रामकुमार थापा स्वच्छ छवि र नरम व्यवहार भएको मान्छे भन्दै बचाउ गरिरहेका छन् ।

एमाले स्थायी कमिटी सदस्य भट्टराईले नेतृत्वलाई असफल बनाउनु भनेको सिंगो पार्टीलाई असफल बनाउने योजना भएको भन्दै त्यसलाई असफल बनाइछाड्ने बताए ।

‘केपी ओली नहुँदा पनि एमाले रहन्छ, भए एमाले सशक्त रहन्छ,’ उनले भने, ‘उहाँहरूको उद्देश्य एमालेलाई कमजोर बनाउने हो । त्यसभित्र अहिले केपी ओली नेता भएको हुनाले र उहाँको नेतृत्वमा सशक्त रूपमा अगाडि बढेको हुनाले त्यसलाई असफल बनाउने प्रयास गरे ।’ त्यो कोशिसलाई जनताले संघीय चुनावमा असफल बनाउने उनको विश्वास छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार