काठमाडौं । पाँच वर्षअघि एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरीको ब्लुमिङ् लोटस इङ्लिस स्कूलका तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् ।
इटहरी उपमहानगरपालिका-५ स्थित उक्त स्कुलका तत्कालीन प्रिन्सिपल ३६ वर्षीय राज खड्का भन्ने राजकुमार खड्का पक्राउ परेको सीआईबीका एसपी कमल थापाले जानकारी दिएका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका-७ घर भएका उनले आफ्नै स्कूलमा ९ कक्षामा पढ्ने १५ वर्षीया छात्रालाई घुमाउने र औषधि उपचार समेत गरी दिने भनी २०७४ साउन २६ गते यौन दुव्यर्वहार गरेको आरोप छ ।
धरान उपमहानगरपालिका-१० स्थित घोपा क्याम्प जाने बाटोमा पर्ने जनहित गेष्ट हाउसमा पुर्याई उनले जबरजस्ती करणी गरेको पीडितले आरोप लगाएकी छन् । स्कूलबाट रेष्टिकेट गरिदिने भनी धम्की दिइ उनले जबरजस्ती करणी गरेपछि ती छात्राले स्कुल नै छाडेको सार्वजनिक गरेकी थिइन् ।
छात्रालाई विवाह गर्छु भनी फकाउने र समाजमा बेइज्जत गरीदिने धम्की दिँदै पटक-पटक मानसिक तनाव दिएर जबरजस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ । पीडितले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि फरार रहेका खड्का काठमाडौं टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएको खुलेको छ ।
उनलाई सीआईबीले बिहीबार त्रिपुरेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट जबरजस्ती करणी मुद्दाको अनुसन्धान भएको थियो । सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भएकोमा भागी फरार उनको यो मुद्दा मुल्तबीमा रहेको छ । उनलाई अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ ।