
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम गठबन्धनको प्रलोभनमा नपर्ने प्रष्ट पारेका छन्।
उनले अहिले भएको कांग्रेससहितको पाँचदलीय गठबन्धन संसदीय चुनावसम्म कायम रहने बताए।
विहीबार सुर्खेत पुगेका अध्यक्ष नेपालले पत्रकारसँगको कुराकानीमा बाम गठबन्धन बनाउने भन्दै विभिन्न प्रलोभन बाँडे पनि त्यो सम्भव नभएको बताए।
‘अहिले भएको गठबन्धन प्रदेश र संघीय निर्वाचनसम्म कायम रहन्छ,’ अध्यक्ष नेपालले भने, ‘यो गठबन्धन टुट्दैन। वाम गठबन्धन बनाउने भन्दै केही व्यक्तिहरुले विभिन्न प्रलोभन बाँडेका छन्,त्यो प्रलोभनमा पर्दैनौँ।’
उनले नेकपा एमालेसँग एकीकरण पनि सम्भव नभएको बताए।
‘एमाले दक्षिणपन्थी हो, त्यो पार्टीसँग एकीकरण त परै जाओस् गठबन्धन पनि हुन सक्दैन,’ अध्यक्ष नेपालले भने।
फरक प्रसङ्गमा उनले कांग्रेसको भूमिकाप्रति शंका जनाए। ‘धेरै अहंकार राखे भस्म हुन्छ,’ उनले कांग्रेसप्रति संकेत गर्दै भने।