काठमाडौँ । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिन आज (बिहीबार) काठमाडौं आइपुगेका छन् ।
नेपाली सेनाका उच्च अधिकारीले फ्लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो स्वागत गरेका छन् । उनी अमेरिकी सेनाको बिशेष विमानबाट आएका हुन् । उनी चार दिने भारत भ्रमण सकेर बिहीबार नेपाल आएका हुन् । नेपाल आउनुअघि उनले बिहीबारै बिहान कोलकातास्थित भारतीय सेनाको पूर्वी कमाण्डको अवलोकन भ्रमण गरेका थिए ।
नेपाली सेनाका अनुसार कमाण्डिङ जनरल फ्लिन चार दिन नेपालमा रहने छन् । अमेरिकी सैन्य अधिकारी सद्भावना भ्रमणमा नेपाल आएको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् । उनका अनुसार फ्लिनले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मासँग सैनिक मुख्यालयमा भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमणअघि अमेरिकी सैन्य अधिकारीको भ्रमण भएको हो । देउवाभन्दा अघि प्रधानसेनापति शर्मा अमेरिका भ्रमणमा जाँदैछन् ।