मंसिर पहिलो साताभित्रै संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रचण्ड

बर्दिया । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो मंसिर पहिलो हप्ताभित्र नै संघ र प्रदेशको निर्वाचन हुने दावी गरेका छन् ।

बर्दियामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न बर्दिया पुगेका प्रचण्डले पत्रकार भेटघाटका क्रममा उनले यस्तो दाबी गरेका हुन् । ‘मोटामोटी हामीले गठबन्धनभित्र छलफल गर्दा र प्रतिपक्षको समेत मंसिर पहिलो हप्ता वा कात्तिक अन्तिममा नै निर्वाचन गर्नुपर्छ भन्ने भएको छ,’ उनले भने, ‘हामी प्रधानमन्त्रीलगायत गठबन्धनमा छलफल गर्दा मंसिरको पहिलो हप्ता नै हुने सम्भावना छ । हामी कन्फ्युज हुन पर्दैन चुनाव मंसिरमै हुन्छ ।

उनले जसरी स्थानीय तह निर्वाचन एकै चरणमा भयो त्यसैगरी प्रदेश र संघको निर्वाचन पनि एकै चरणमा गर्ने भन्नेबारे छलफल भएको बताएका छन् । ‘जसरी हामीले स्थानीय तहको निर्वाचन एकै चरणमा देशैभरि सम्पन्न गर्न सम्भव भयो, त्यो भन्दा प्रदेश र संघको एकैचोटी गर्न सहज छ,’ उनले भने ।

तर, सुरक्षाको हिसाबले दुई पटक गरेर निर्वाचन सम्पन्न गर्ने कि भन्नेबारे शीर्ष तहमा छलफल अघि बढेको उनले बताए । ‘सेक्युरिटीको हिसाबले दुई चोटी गर्नेकी भन्ने पनि छ । जे भएपनि मंसिरमा नै चुनाव सम्पन्न हुन्छ ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार