प्रदेश र संघीय निर्वाचनको मिति साउन पहिलो साता घोषणा गर्ने तयारी

सरकारले आगामी साउन पहिलो साता प्रदेशिक र संघीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। 

सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाका अनुसार सरकार साउन पहिलो साता निर्वाचनको मिति घोषणाको तयारीमा जुटेको हो। 

कांग्रेस ललितपुर क्षेत्र नम्बर २ प्रदेश सभा (क) ले सोमबार आयोजना गरेको क्रियाशील सदस्यहरुको भेला तथा जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम सम्बोधन गर्दै उनले साउन पहिलो साता बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचन मिति घोषणा हुने बताए। 

‘सम्भवतः साउन ४ वा ५ गते बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्छ,’ महामन्त्री थापाले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी दिँदै भने, ‘मंसिर ४ वा ५ गते हुने गरि निर्वाचनको घोषणा हुन्छ।’ 

उनले निर्वाचन मिति घोषणा पछि नयाँ मतदाता थप्न नपाइने भन्दै मिति घोषणा अगावै नयाँ मतदाताको नाम दर्ताका लागि खटिन कार्यकर्तालाई निर्देशन पनि दिए। 

‘अब हामीसँग ५–७ वा ८ दिन बाँकी छ। नयाँ मतदाता त्यसपछि लेखाउन पाइँदैन,’ महामन्त्री थापाले भने, ‘अबको ७–८ दिन सम्पूर्ण ध्यान नयाँ मतदाता थप्नमा लगाउनुस्।’

निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार