बोरिङ खन्दा काठमाडौँ जोरपाटीमा निस्कियो लेदो माटोसहितको ग्यासको फोहोरा

काठमाडौँ । राजधानीको जोरपाटीस्थित चामुण्डामा पानीका लागि बोरिङ खन्दा लेदो माटोसहितको ग्यासको फोहोरा निस्केको छ ।
स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो ।

प्रत्यक्षदर्शी केशव कुँवरका अनुसार पानीका लागि बोरिङ खन्ने क्रममा सोमबार बिहान १०ः१० बजेदेखि उक्त स्थानबाट ग्यास निस्किएको हो । बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको कुँवरले जानकारी दिए ।

यसबारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको छ । एक घण्टाअघि निस्किएको उक्त फोहोरा अहिले पनि निरन्तर छ । प्रहरी र स्थानीयले दुर्घटना हुन नदिन त्यस क्षेत्रमा आगो बाल्न दिएका छैनन् । राजधानीका विभिन्न स्थानमा यसअघि पनि बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्कने गरेको समाचार सार्वजनिक हुने गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार