कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कनकाई नहरमा डुबेर दुई बालबालिका सिकुन् राई र एन्जिलाको मृत्यु

झापाको कनकाई नहरमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।

बिहीबार साँझ पौडी खेल्न पसेका स्थानीय ९ नम्वर वडा आइतबारेका १२ वर्षीय सिकुन् राई र सोही स्थानकी ११ वर्षीया एन्जिला सुन्दासको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक राई माईधार स्थित रेड रोज बोर्डिङ स्कुलका छात्र हुन् भने सुन्दास बाल निकुञ्ज माध्यमिक विद्यालयकी छात्रा हुन् ।

मृतक बालबालिका एकै गाउँका सँगै खेल्ने साथी हुन । स्थानीयवासीका अनुसार विद्यालयबाट घर फर्केपछि खाजा खाएर उनीहरू खेल्न गएका थिए ।
साँझ ५ बजे तिर आइतबारे स्थित कनकाई नहरको डिलमा उनीहरूको बाहिरी वस्त्र फेला परेको थियो । खेल्न गएका नानीहरूको बाहिरी वस्त्र मात्र फेला परेपछि स्थानीयवासी र प्रहरीले दुवै जना नहरमा पसेको आशंकमा खोजी सुरु गरेका थिए ।

घटनास्थलबाट चार किलोमिटर दुरीको सतासी खोलाको साइफनमा अड्किएको अवस्थामा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताए । उनीहरूको शव ४ घण्टापछि फेला परेको हो ।

घटना पछि आइतबारे शोकमा डुबेको छ । ‘एकै ठाउँका दुई बालबालिकाको मृत्यु जस्तो अकल्पनीय घटनाले सबैलाई स्तब्ध बनायो,’बाल निकुञ्ज माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक बिष्णु खतिवडाले भने ।

प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ भने घटनाको थप अनुसन्धान पनि सुरु गरेको जनाएको छ । सतासी न्युज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार