कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

चितुवाको आक्रमणबाट आमा छोरा घाइते

चितुवाको आक्रमणबाट तनहुँमा आमा छोरा घाइते भएका छन् ।

घाइते हुनेमा व्यास नगरपालिका–११ पातीघारी बस्ने ४९ वर्षीय दिलमाया गुरुङ र उनका नौ वर्षीय छोरा शंकर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गएराति घरभित्र कोठामा आमाछोरा विस्तारामा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए ।

‘नयाँ बन्दै गरेको आफ्नै घरमा आमाछोरा एउटै कोठामा सुतिरहेका रहेछन् । त्यतिकैमा चितुवा कोठामा छिरेर सुतिरहेको छोरालाई आक्रमण गरेछ । थाहा पाएर लखेट्न खोज्दा उनलाई पनि आक्रमण गरेको हो,’ डीएसपी खड्काले बताए ।

नयाँ बन्दै गरेकाले घरमा झ्याल ढोका राख्न नभ्याएका कारण उनीहरू त्यतिकै कोठामा सुत्दैआएका थिए । छोराको बायाँ कानमाथि चोट लागेको छ भने आमाको हत्केला र नाडीमा चिथोरेको हो ।

उनीहरूको दमौली अस्पतालमा उपचार गरिएको थियो । अवस्था भने सामान्य रहेको डीएसपी खड्काले बताए । पछिल्लो समय तनहुँमा चितुवा आतंक बढ्दै गएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार