माओवादी नेताको खुलासा- प्रचण्डलाई प्रधानमन्त्री बनाउने ‘जेन्टलम्यान एग्रिमेन्ट’ रहेछ

काठमाडौं, ३ पुस । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले फेरि पनि शेरबहादुर देउवा प्रधानमन्त्री बने जनतामा निराशा छाउने भएकाले आफ्नो पार्टीले पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्रीमा अघि सारेको बताएका छन् ।
‘शेरबहादुर देउवा पाँचचोटि प्रधानमन्त्री भइसक्नुभएको छ । अब कतिचोटि प्रधानमन्त्री भइरहने ? शेरबहादुरजीका कारण जनतामा अर्को निराशा पैदा हुन्छ । त्यसैले प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सारौं भन्ने भन्ने हाम्रो प्रस्ताव छ । प्रचण्डमा केही योगदान गरौं भन्ने भावना छ । नेतृत्व क्षमता ह्रास भएको छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले भने ।
नेपाली कांग्रेसले दोस्रो चरणमा सरकारको नेतृत्व गर्दा राम्रो हुने पनि उनले औंल्याए । शर्माले भने, ‘प्रचण्डले आलोपालोमा एक सेकेन्ड पनि तलमाथि गर्नुभएको छैन । यसमा शंका मान्नुपर्ने केही पनि छैन । दोस्रो चरणमा कांग्रेसले सरकारको नेतृत्व गर्दा राम्रो हुन्छ भन्ने हाम्रो भनाइ हो । त्यस्तो समझदारी बनाउँदा के फरक पर्छ र ?’
तेस्रो पार्टीले सरकारको नेतृत्व गर्दा स्वाभाविक हुन्छ र भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘कतिपयले १८ सिट जितेको पार्टीले सरकारको नेतृत्व गर्नु हुँदैन भनेको सुन्छु । हिजो ३६ सिट जितेको माओवादी केन्द्रले २३ सिट जितेको कांग्रेसलाई नेतृत्व दिएको होइन ?’
प्रचण्डले देउवासँग सरकारको नेतृत्वबारे स्पष्ट रुपमा कुरा राखिसकेको पछि उनले बताए । शर्माले थपे, ‘गठबन्धनमा सरकारको नेतृत्वबारे बल्ल छलफल सुरु भएको छ । शेरबहादुर देउवाले छलफल गरौंला, हेरौंला भन्नुभएको छ । कांग्रेस संसदीय दलमा समस्या छ । अहिले उहाँहरु त्यता केन्द्रित हुनुहुन्छ । मुख्य कुरा प्रचण्डलाई प्रधानमन्त्री बनाउने जेन्टलम्यान एग्रिमेन्ट पहिले नै भइसकेको रहेछ । छलफलको विषयवस्तु भएको रहेछ ।’ उनले माओवादीको ध्यान राष्ट्रपतिमा नभएको पनि स्पष्ट पारे ।
कांग्रेसले दम्भ र घमण्ड गरे माओवादी केन्द्र अर्को निर्णय लिन बाध्य हुने पनि स्पष्ट पारे । उनले भने, ‘अहिलेसम्म गठबन्धन एकै ठाउँमा छ । गठबन्धनभित्रै सुझबुझपूर्ण निर्णय गर्नुपर्छ । गठबन्धनको सबभन्दा फाइदा नेपाली कांग्रेसलाई भएको छ । सहयोगी दलहरुलाई एक-दुई थान मन्त्री मात्र दिएर हुन्छ ? कांग्रेसले दम्भ र घमण्ड गर्‍यो भने पार्टीले अर्को निर्णय गर्न सक्छ । रिपोटर्स नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent