प्रचण्डलाई भेटेर प्रकाशमानको आग्रह : देउवा नेतृत्वको सरकार बनाउन सघाउनुस्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनमा सघाउन आग्रह गरेका छन्।

शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर उनले अध्यक्ष प्रचण्डसँग सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि सघाउन आग्रह गरेका हुन्। जवाफमा प्रचण्डले नयाँ सरकारको नेतृत्व पाउनु पर्ने अडान राखेका छन्।  

सिंहका प्रेस संयोजक युपी लामिछानेले माओवादी अध्यक्ष प्रचण्डसँग भेट भएको पुष्टि गरे।

‘आज बिहान खुमलटारमा भेट भएको हो। भेटमा कांग्रेस पार्टी ठूलो पार्टी भएकाले फस्ट टर्म सभापतिज्युकै नेतृत्वमा जाऔं। पावर शेयरिङ गरौं भन्नुभयो,’ उनले भने, ‘प्रचण्डले योपालि मलाई सहयोग गर्नुपर्‍यो भन्नुभयो।’

नेता सिंह माओवादी अध्यक्ष प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

बालुवाटारमा उनले प्रधानमन्त्री देउवालाई प्रचण्डसँग भएको छलफलबारे ‘ब्रिफिङ’ गरेको लामिछानेले जानकारी दिए।

प्रचण्डले पहिलो कार्यकाल आफूले पाउनुपर्ने अडान लिएपछि सत्ता गठबन्धनभित्र ‘पावर सेयरिङ’ मा कुरा मिल्न सकेको छैन। सत्ता साझेदार तीन दलका शीर्ष नेताबीच बालुवाटारमा बिहीबार साँझ भएको छलफल बिनानिष्कर्ष टुङ्गिएको थियो।

कुरा नमिलेपछि उनीहरू शुक्रबार अपरान्ह फेरि बस्ने गरी उठेको बालुवाटार स्रोतले जनाएको छ।

बिहीबार साँझ प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो।

स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले सत्ताको पहिलो नेतृत्व गर्ने पुरानो समझदारी कार्यान्वयन गराउनुपर्ने अडान लिएका थिए।

तर कांग्रेसले अहिले प्रचण्डलाई प्रधानमन्त्री दिन नसक्ने बताएपछि कुरा नमिलेको स्रोतले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार